© २०२३
बुटवल, २४ पुस । प्रधानमन्त्री कप पुरुष एक दिवसिय प्रदेश क्रिकेट प्रतियोगिताको उपाधि बाँकेले हात पारेको छ । सिद्धार्थ क्रिकेट मैदानमा भैरहवामा आईतबार भएको फाईनल खेलमा नवलपरासी जिल्लालाई ७ रनले पराजित गर्दै बाँकेले उपाधि हात पारेको हो ।
नवलपरासीले टस जितेर ब्याटिङको निम्तो दिएपछि मैदान उत्रेको बाकेले २७.१ ओभरमा सबै बिकेट गुमाएर १ सय ४९ रनको लक्ष्य खडा गरेको थियो । बाँकेका सिद्धान्त राज शाहीले ३० रनमा ४० तथा राहुल शर्माले १४ बलमा १६ रनको योगदान दिएका थिए । कम स्कोरमा रोक्न नवलपरासीका अजित यादव र इकलाख वारसीले समान ३—३ तथा रोशनलाल गुप्ताले २ बिकेट लिए ।
मध्यम लक्ष्य पछयाएको नवलपरासीले प्रकाशका कारण खेल २८ ओभर घटाउदा यसको फाईदा बाँकेलाई मिल्यो । नवलपरासीले निर्धारित २८ ओभरमा ७ बिकेटको नोक्सानीमा केवल १ सय ४२ रन बनायो । बाँकेका लभकुश यादव र सिद्धान्तराज शाहीले समान २—२ तथा धन बहादुर क्षेत्री र सुनिल भण्डारीले समान १—१ बिकेट लिए । खेलमा बाकेका सिद्धान्तराज शाही म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
योसंगै प्रतियोगितामा सहभागी टिमहरुबाट लुम्बिनी प्रदेशको एउटा बलियो टिम तयार गरिने प्रदेश सदस्य तथा संयोजक प्रथम पराजुलीले बताए । ‘यो टिम नै पिएम कपमा प्रदेशको प्रतिनिधित्व गर्नेछ ।’—उनले भने ।
एक समारोहका बिच सिद्धार्थनगरपालिकाका उपप्रमुख उमा अधिकारी, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापा, नेपाल क्रिकेट संघका पुर्व कार्यबाहक सचिव प्रशान्त मल्ल, प्रदेश क्रिकेट संघका सल्लाहकार दिनेश हमाल, विनय ज्ञवाली, नवलपरासी क्रिकेट संघका अध्यक्ष कृष्ण श्रेष्ठले ट्रफी, पुरस्कार बितरण गर्दै नेपाली क्रिकेट खेलको विकासमा लुम्बिनी प्रदेशको उत्कृष्ट योगदान रहदै आएको बताए ।