© २०२३
बुटवल (बुटवल टुडे), २० पुस। हिन्दु धर्मसँग सम्बन्धित श्रीमद भागवत ज्ञान महायज्ञ एंव श्रृङारिक महाआरती कार्यक्रमको बौद्ध दर्शनका गुरु एवं लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले उद्घाटन गराएर धार्मिक सदभावको सन्देश दिइएको हो ।
पण्डित दीनबन्धु पोखरेल प्रमुख कथावाचक रहेको महायज्ञमा बौद्ध दर्शनका बारेमा देशविदेशमा प्रवचन दिने लामा प्रमुख अतिथि बनेर धार्मिक सद्भाव र नेपालीहरू एकताबद्ध रहेको सन्देश दिएका हुन ।
कोटहीमाई मन्दिर प्राङगण तिलोत्तमा नगरपालिका वडा न. १७ पकडीहवामा आयोजित महायज्ञमा विभिन्न हिन्दुधर्मका अगुवाहरूको उपस्थिती रहेको थियो । महायज्ञको उद्घाटन गर्दै कोषका उपाध्यक्ष डा. लामाले नेपाल धार्मिक सद्भाव र एकतामा लागि विश्वमै उदाहरणीय रहेको बताए । उनले ३ करोड नेपाली जनता एक आपसमा मिलेर अगाडि बढेको बताउँदै सबै धर्मका र सम्प्रदायविच बलियो एकता रहेको बताए ।
उनले हिन्दु धर्माम्बलम्बीहरू लुम्बिनी र स्वयम्भु सहज रूपमा जाने र बुद्धिष्टहरू पशुपती जाने गरेको बताउँदै सदभाव र सहकार्यमा नेपालीहरू एकताबद्ध रहेको बताए । ‘हिन्दुहरू सहजरूपमा लुम्बिनी र स्वयम्भु जानुहुन्छ, बुद्धिष्टहरू पनि पशुपतीमा जानुहुन्छ’ उपाध्यक्ष लामाले भने । उनले नेपालको संस्कृती, सदभाव र परम्परा एक आपसमा जोडिएको बताए । डा. लामाले बौद्धिष्टको मेडिटेशन र हिन्दुहरूको योग विश्वकै लागि नभई नहुने बनेको बताए । संविधानसभा सदस्य र पूर्व राज्यमन्त्री समेत रहेका उपाध्यक्ष लामाले नेपाल सबै धर्म, जातजाती र सम्प्रदाय मिलेर बसेको मुलुक भएकाले यस्तो खालको सदभावलाई भत्कन दिन नहुने बताए ।
उनले सबैको सम्मान जनक उपस्थिती हुनुपर्ने बताउँदै नेपालीहरूविचको एकतालाई साझा सम्पत्ति बनाउन सक्नुपर्ने बताए । नेपालीहरूविच जातजाती र विभिन्न धर्मका मानिसहरूविच एकतावद्ध रहेको उनले बताए । ‘हाम्रो भूमि बुद्धभूमि हो, ३ करोड नेपाली मिलेर बसेको देश हो, यस्तो देश संसारमा कतै छैन, त्यसैले हामी सबै मिलेर बस्नुपर्छ’ उनले भने । लुम्बिनी, सगरमाथा र पशुपतीलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि सबै एकजुट भएर लाग्नुपर्ने उनले बताए । नेपाल आर्थिक रूपमा कमजोर भएपनि साँस्कृतिक रूपमा संसारकै धनी देशका रूपमा रहेको बताए । ‘हाम्रो संस्कार, संस्कृती र प्रकृतीमा धनी छौं, हामी सबै मिलेर अगाडि बढौं’ उनले भने ।
उपाध्यक्ष लामाले लुम्बिनी र बुद्धलाई सबै नेपालीहरूले अपनत्व मान्नुपर्ने बताए । उनले बुद्ध जन्मस्थल लुम्बिनी शान्ति र पवित्र स्थल रहेकाले सबै धर्म र सम्प्रदायले अपनत्व गर्नुपर्ने बताए । उनले बुद्धजन्मस्थलको जिल्लामा भएको महायज्ञ आर्थिक संकलनसँगै समाजलाई जोड्ने काम गरेको बताए । कार्यक्रममा कथावाचक दीनबन्धु पोखरेलले नेपाल सामाजिक रूपमा एकताबद्ध र धार्मिक रूपमा समेत मिलेर बसेको समाज रहेको बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख जागेश्वरीदेवी चौधरी, वडाअध्यक्ष दानबहादुर चौधरी, चेतनारायण आचार्य, बालकृष्ण गैरै लगायतले बोल्दै महायज्ञ सफलताको शूभकामना दिएका थिए । बुधबारदेखि शुरु भएको महायज्ञ आगामि पुस २४ गतेसम्म चल्नेछ । महायज्ञको प्रमुख कथावाचन प. दीनबन्धु पोखरेल र उपवाचकमा प्रेम सुजन शास्त्री छन् ।