© २०२३
भैरहवा, १९ पुस । शुक्रबार रातीदेखि बिद्युत प्राधिकरणले आफ्नो उद्योगमा बिद्युत काटेको घराना फुड्सका सन्चालक बिनय गोयन्काले दुखेसो ब्यक्त गरे । गोयन्का भन्छन्, ‘हामी माथि घोर अन्याय गरेको छ ट्रंक लाइन भनेर नाजायज बिलिङ गर्यो ५ करोड ९ लाख रुपियाँ पुर्याएको छ ।’ ‘बिद्युत प्राधिकरणले लाइन काटेर अन्याय गरेको छ त्यसको घोर भर्सना गर्दै अरू उद्योगको लाइन नकाटोस भनेर बिद्युतलाई भनेका छौं नियमित बक्यौता तिरेका छौं ।’ गोयन्का भन्छन्, ‘उच्च अदालतमा बिचाराधिन हाम्रो मुद्दा हुंदा हुँदै हामीलाई अन्याय भएको छ । हामीले ट्रंकलाइन मागेकै होइनौं । अब हामी अरू उपचार तर्फ पनि लाग्छौं ।’
रूपन्देहीमा सञ्चालित १९ वटा उद्योगहरूले विद्युत काटिएका उद्योगहरूको लाइन पुनः निःशर्त जडान गर्न माग गरेका छन् । उद्योगीले थप उद्योगको लाइन नकाट्न माग गर्दै शुक्रबारसम्म लाईन काटिएका उद्योगको विद्युत लाईन जडान नगरिएमा १९ वटा उद्योग एकैसाथ कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।
बुधबार नेपाल विद्युत प्राधिकरण भैरहवा र नयाँमिल वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाउँदै उद्योगीहरूले बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित १९ वटा उद्योगहरूले नेपाल विद्युत प्राधिकरण भैरहवा तथा नयाँमिल वितरण केन्द्रले जबरजस्ती न्यायसम्मत नरहेको ट्रंकलाईनको छुट बिलिङ गरेकाले कानूनसम्मत नरहेको छुट बिलका विरुद्ध कानूनी बाटो अवलम्बन गरिएको उद्योगीको भनाइ छ । नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले घराना फुड्स र सिद्धार्थ पेट प्लाष्टमा शुक्रबार राति देखि लाइन काटेको थियो ।
उद्योगी चन्द्रमान श्रेष्ठले २ वटा उद्योगको लाइन काटिएको हुंदा ज्ञापन पत्र दिन आएको बताए । हामीले प्रयोग नगरेको, हामीले तिर्नै नपर्ने रकम भएको श्रेष्ठ बताउँछन् । ‘कसैले २० घन्टा लगातार प्रयोग गरे तिर्ने हो हामीले लगातार २० घन्टा चलाएकै छैनौं । प्रसारणपनि गरेका छैनौं यसमा हाम्रो बिरोध हो ।’ यदि काटेको लाइन आइतबारसम्म जडान भएन भने आइतबार बाट सबै उद्योग बन्द गरि शान्तिपुर्ण धर्ना गर्ने श्रेष्ठले बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बिना जानकारी उद्योगीको लाईन काटिएको बताउँछन । उनले उद्योगमा लाईन काटिदा उद्योगीसँगै मजदूर बिचल्लीमा परेको बताए । उनले शुक्रबारसम्म लाइन नजोडिए उद्योग बन्द गरेर तालाचाबी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाउने बताए ।
पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुले कुनै उद्योगको हितको लागि यस्तो नीतिले २२ उद्योग मर्कामा परेको बताए । ट्रंक लाइन भन्दै एक्कासि चिठि आउँदा उद्योगलाई अन्याय गरिएको साहुको भनाइ छ । नियमित मासिक बिल तिर्ने तर ट्रंक लाइनले नाजायज शुल्क उद्योगीसंग माग्नु गलत भएको उनको तर्क छ । सेवा सुबिधा नै नपाइ कसरी उद्योगलाई ट्रंक लाइन दियो उनको तर्क छ ।
उद्योगी र प्राधिकरणबीचको विवाद उच्च अदालत तुलसीपुर बुटवल इजलासमा विचाराधिन रहेकै अवस्थामा लाईन काटिएको र अदालतको फैसला नआउञ्जेल उद्योगको विद्युत तत्कालै सुचारु गरी उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने साहुले बताए ।
विद्युत प्राधिकरणले उद्योगहरूमाथि दबाब सिर्जना गर्न विद्युत लाइन काट्न सुरु गरेको र भैरहवा वितरण केन्द्रले दुईवटा उद्योगको लाइन
काटेकोप्रति बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगीहरू त्रसित भएको ज्ञापनपत्रमा बताइएको छ ।
‘प्राधिकरण भैरहवा वितरण केन्द्रले २०७४ चैत १४ मा आफ्नो आन्तरिक लोड भार मिलान गर्ने क्रममा हामी १३ वटा उद्योगहरूको कनेक्सन जडान भएदेखि नै लोडसेडिङ खेप्दै आएको औद्योगिक फिडर (भैरहवा पुरानो र न्यू २) बाट फिडर परिवर्तन गरी अमुवा भरवलिया प्रशारण ट्रंकलाईनमा वितरण केन्द्रको आफ्नै बाध्यताका कारणले सार्नुपरेको परिपेक्षयमा न्यायसम्मत नरहेको छुट बील २०७५ देखिको जारी गरिएको छ, ’ज्ञापनपत्रमा उल्लेख छ ।