© २०२३
बुटवल, १७ पुस । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष एक दिने प्रदेश क्रिकेट प्रतियोगितामा समुह ‘ए’ बाट विजेता बन्दै नवलपरासी जिल्ला फाईनलमा प्रवेश गरेको छ । समुहमा कपिलबस्तुसंग समान दुई खेलमा जित निकाले पनि रनरेटको आधारमा नवलपरासी समुह विजेता बन्दै फाईनलमा प्रवेश गरेको हो । बुधबारदेखी समुह बि को खेलहरु चल्ने प्रदेश सदस्य तथा संयोजक प्रथम पराजुलीले बताए ।
मंगलबार भएको खेलमा समुह ए को अन्तिम खेलमा नवलपरासीले रुपन्देहीलाई २ बिकेटले पराजित गरेको हो । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा सिद्धार्थनगर क्रिकेट स्टेडियम, भैरहवामा भएको खेलमा टस जितेर नवलपरासीले ब्याटिङको निम्तो दिएपछि मैदानमा उत्रेको रुपन्देही २४ ओभरमा सबै बिकेट गुमाएर केवल १ सय रनको लक्ष्य खडा गरेको थियो । रुपन्देहीका मृनल गुरुङले २४ बलमा २०, बिष्णु कठायतले ३८ बलमा ३२ र अजय चौहानले १९ बलमा १० रन बाहेक अन्य ब्याट्सम्यान दोहोरो रन बनाउन सकेनन । कम स्कोरमा रोक्न नवलपरासीका अजित यादवले ८ ओभरमा १८ रन खर्चेर १ मेडनसहित शानदार ६ बिकेट लिए । राजेन्द्र बहादुर बलमे २ बिकेट लिए ।
झिनो लक्ष्य पछ्याएको नवलपरासी ३५.५ ओभरमा ८ बिकेटको नोक्सानीमा विजयी भयो । शुरुवाती ब्याट्सम्यानको राम्रो प्रदर्शन खेल्दा टिम विजयी भयो । ओपनर सम्राट भुषाल नटआउट ४९ रन खेल्दा उनलाई साथ दिने ब्याटसम्यानको अभाव खेलमा देखिएको थियो । रन्जित खड्का ३४ बलमा ११ रन बनाएर पेभिलियन फर्किएपछि टिममा कठिनाई देखापर्यो । रुपन्देहीका कृष्ण कार्की र अभिषेक गौतमले समान २—२ बिकेट लिए । खेलमा नवलपरासीका अजय यादव म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
बुधबार समुह ‘बि’ अन्तरगत बाके र बर्दिया जिल्लाका बिचमा खेल हुने प्रदेश सदस्य तथा संयोजक प्रथम पराजुलीले बताए ।