© २०२३
बुटवल, १६ पुस । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष एक दिने प्रदेश क्रिकेट प्रतियोगितामा पाल्पा विजयी भएको छ । सोमबार भएको खेलमा कपिलबस्तुलाई पाल्पाले ३८ रनले पराजित गरेको हो ।
लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा सिद्धार्थनगर क्रिकेट स्टेडियम, भैरहवामा आईतबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको पाल्पाले ५० ओभरमा ७ बिकेट गुमाएर १ सय ९६ रनका लक्ष्य खडा गरेको थियो । पाल्पाका शुरुवात खराब रहेपनि मध्यम क्रमका ब्याट्सम्यानहरुले पारीलाई सम्हालेका थिए । ओपनर रुपेश बश्याल केवल १४ रनमा आउट भए । यसैगरि खेलमा विपिन खत्री, मनिष थापा र आशिष लोहनीले खाता खोल्न सकेनन । पाल्पाका रुपेश बश्यालले नटआउट अर्धसतकीय पारी खेले । उनले १ सय ३२ बलमा ७ चौकाको मद्यतले शानदार ७८ रन बनाए । यसैगरि मनिष न्यौपानेले ८३ बलमा १ छक्का र ४ चौकाका मद्यतले अर्धसतक पुरा गरे । कपिलबस्तुका महेश भार र शिव कुवरले ३—३ बिकेट लिए ।
मध्यम लक्ष्य पाएका कपिलबस्तुका ब्याट्सम्यानहरु ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५८ रनमा समेटियो । ओपनर ब्याट्सम्यान प्रतिक भट्टराईले १ सय २७ बलमा ७२ रन जोडेका थिए । उनलाई क्रिजमा साथ दिने खेलाडी नहुदा कपिलबस्तु खेलमा पराजित हुन पुग्यो । महेश भारले ३१ बलमा १६, राज अग्रहरीले ३६ बलमा १६ रनको योगदान दिएका थिए । कम स्कोरमा रोक्न पाल्पाका सागर सिलवालले ३ तथा शिव शर्मा, केशव पहारी र रुपेश बश्यालले समान २—२ बिकेट लिए ।
खेलमा पाल्पाका रुपेश बश्याल म्यान अफ दी म्याचबाट पुरस्कृत भए । मंगलबार रुपन्देहीले नवलपरासीको सामना गर्ने प्रदेश सदस्य तथा संयोजक प्रथम पराजुलीले बताए । छनौट खेल अन्तरगत सिद्धार्थनगरमा कपिलवस्तु, परासी, पाल्पा र रुपन्देही जिल्ला तथा लमहीमा बाके, बर्दिया र दाङ जिल्लाको खेल हुने छन ।