© २०२३
सन् २०२४ आजदेखि प्रारम्भ भएको छ । २०२३ को विदाईसंगै २०२४ आगमनमा विश्वभर खुसी र रौनक सुरु भएको छ । नेपालमा पनि पछिल्लोसमय अंग्रेजी नयाँ बर्षलाई हर्ष र उत्साहको रूपमा मनाउने प्रचलन बढ्दै गएको छ । यद्यपि नेपालको मौलिकता भनेको बिक्रमसम्बत हो । तर, विश्वभर अंग्रेजी पात्रोकै प्रचलन बढेकोले नेपालमा पनि अंग्रेजी नयाँ बर्ष मनाउनु सान्दर्भिक छ । नयाँ बर्षको पहिलो दिनको अवसरमा खुसी साटासाट गर्ने र एक अर्कोलाई शुभकामना दिनेक्रम सुरु भएको छ । संगै वितेको वर्षको समीक्षा पनि भैरहेको छ । समय बलवान र गतिशील हुन्छ । त्यसले चुनौतीसँगै अवसर पनि लिएर आउँछ । त्यसैले नयाँ बर्षले अनेकौ अवसर र चुनौति लिएर आएको छ । नेपालमा नयाँ बर्ष मनाईरहँदा दुई दिन अघि काठमाण्डाको बालकुमारीमा भएको घटनाले आम नेपालीलाई प्रताडित बनाएको छ । कोरिया जान पाउनु पर्ने माग गर्दै भएको प्रदर्शनमा प्रहरीले आबेगमा गोली चलाउँदा दैलेखका २३ वर्षीय सुजन रावत र डोटीका २२ वर्षीय वीरेन्द्र साहको दुःखद मृत्यु भएको छ । त्यसैकारण अंग्रेजी नयाँ बर्षको आगमनले नेपाललाई खासै उत्साहित वनाउन सकेन । यो दुःखद घटनाले आम नेपाली युवा रोजगारीका लागि उत्कट रहेको स्पष्ट गर्दछ । सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई जनही १०÷१० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ तर यो पैसाले ती युवा जसले रोजगारीको माग गर्दै प्रदर्शन गरेका थिए, उनीहरूको जीवनको पुनराबृत्ति हुन सक्दैन । उनीहरूको परिवारमा परेको बज्रपातले आम नेपालीको मन भक्कानिएको छ । यो संघारमा नयाँ बर्षले रौनक दिन सकेन । सरकारले उक्त घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न र आगामी दिनमा त्यस्ता प्रकृतिका घटना हुन नदिन सचेत गराओस् । आवेगमा गोली चलाउने सुरक्षाकर्मीमाथि हदैसम्मको कारवाही होस् । आगामी दिनमा सुजन र बीरेन्द्रको नियति नेपाली युवाहरूले भोग्नु नपरोस् । सरकार कति गैर जिम्मेवार, पिपाशु छ भन्ने यो घटनाले चरितार्थ गरेको छ । सरकार आफ्नो संयन्त्र प्रयोगमा असफल सावित भैसकेको ललितपुरको बालकुमारी घटनाले स्पष्ट गरेको छ ।
बालकुमारीको घटना राज्य शक्तिको चरम दुरूपयोग र अनुचित बल प्रयोगको पछिल्लो उदाहरण हो । सरकारले प्रदर्शनमा उत्रिएका युवाहरूसंग सम्वाद र सहमतिको बाटो छाडेर निर्मम दमन र हत्यामा उत्रिनु खेदजनक छ । घटनाको निष्पक्ष छानविन र दोषीलाई अविलम्ब कार्वाही गरियोस् । मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिइयोस् । नयाँ बर्षको पूर्व सन्ध्यामा भएको यो घटना नेपालको इतिहासमा कालो दिनको रूपमा रहनेछ । पुरानो बर्ष २०२३ को त्यो दिनको पुनराबृत्ति कहिल्यै नहोस् । जेहोस सन. २०२३ नेपाली जनताले सम्झिरहने बर्षको रूपमा भन्दा पनि नेपालीलाई पीडा दिने बर्षका रूपमा नेपालको इतिहासमा लेखिने छ । त्यसका अतिरिक्त पुरानो बर्षमा अस्थीरता, आर्थिक उतारचढाव, आर्थिक संकट आदिका कारण असमञ्जसता देखिएको थियो । जेहोस सन. २०२३ लाई औपचारिक रूपमै विदा गरिएका छ । आशा गरौं नयाँ बर्षले नयाँ संभावना, नयाँ जीवन र कोरोना मुक्त विश्व जीवन वनाउन सकोस् । पछिल्लोपटक कोरोनाको संक्रमण फेरी बढिरहेकोले त्यसले चिन्ता थपेको छ । विश्व स्वास्थ्य संगठनले पनि कोरोनाको जोखिम रहेकोले सावधानी अपनाउन आग्रह गरेको छ । पुरानो बर्षको बिदाई गर्दैगर्दा नयाँ बर्ष कोरोनामुक्त नेपाल बनोस् । अहिले रूस र युक्रेन तथा इजरायल र हमासबीच चलिरहेको युद्धका कारण कैयौं नेपालीले ज्यान गुमाएका छन । हमासको कब्जामा रहेका बिपीन जोशी अझै मुक्त हुन सकेका छैनन् । नयाँ बर्षमा नेपाललाई प्रत्यक्ष अप्रत्यक्षरूपमा प्रभावित गरेको यो युद्ध अन्त्य होस् । नयाँ बर्ष सन. २०२४ समग्र नेपाल र नेपालीहरूका लागि सुखद रहोस् ।