© २०२३
बुटवल, १५ पुस । युवाहरुमा बास्केटबल खेलप्रतिको क्रेजलाई मध्येनजर गर्दै खेललाई संस्थागत विकासमा जोड दिईएको छ । लुम्बिनी प्रदेश बास्केट बल संघको पहिलो पूर्ण बैठकले युवाहरुलाई सम्बोधन हुने गरि प्रदेशमा यो खेल विकास र बिस्तार गर्ने योजना तयार गरेको हो । ग्रासरुटबाट नै बास्केटबल विकास गर्ने गरि आफुहरु प्रदेशमा संस्थागत रुपमा अघि बढेको संघका मनिष कुमार ह्याजुले बताए । पहिलो बैठकबाट प्रत्येक ३ महिना नियमित बैठक बस्ने, आन्तरिक र बाह्य आर्थिक श्रोत जुटाउने, राष्ट्रिय वाणिज्य बैकमा खाता संचालन गर्ने, लोगो/लेटरप्याडको टुगो, खेल क्यालेडर तयार गर्ने एजेण्डामाथि छलफल गरि निर्णय गरिएको उनले बताए । ग्रासरुट खेल विकासका लागि विद्यालयहरुसंग सहकार्यगरि अघि बढ्ने तथा यो खेलको जनशक्ति तयार गर्ने गरि आफुहरु अघि बढ्न लागेको अध्यक्ष ह्याजुले बताए ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका सदस्य दिर्घ कुमार के.सी (कुमार) ले अन्तराष्ट्रिय स्तरमा नै सम्भावना भएको बास्केटबल खेलको विकासमा सबै सरोकारवाला खेल संस्थाहरु एक ठाउ उभिएर योजनाबद्ध रुपमा लाग्न सुझाव दिए । लुम्बिनी प्रदेश हरेक खेलको उर्वरभुमिका रुपमा चिनिएको भन्दै खेल पूर्वाधार र गतिविधिलाई बढाउने गरि संस्था लाग्नुपर्ने उनले बताए । विद्यालयमा एउटा सानो कोर्टमा खेल्न सकिने र लगानीका हिसाबबाट पनि धेरै महगो नहुने हुदा यो खेल अधिकाश ठाउमा खेलिदै आएको उनले बताए ।
कार्यक्रममा संघका वरिष्ठ सल्लाहकार तथा पुर्व बास्केटबल कोच नगेन क्षेत्री, सल्लाहकार राजेन्द्र श्रेष्ठ, लक्ष्मण भारी मल्ल, प्रेस सल्लाहकार स्वस्तिक श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, अजय श्रेष्ठ, असोक थापा, प्रदिप शेरचनले बास्केटबल खेल युवाहरुमा आर्कषणको खेल भएको भन्दै यसलाई विद्यालयस्तरमा बिस्तार गर्दै लैजान सुझाव दिए ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देही, दाङ, नेपालगंजमा बास्केट बल बढी खेलिदै आएको संघका महासचिब बिपिन के.सीले बताए । यसैगरि पछिल्लोसमय रोल्पा, पाल्पा, नवलपरासीमा संघ बिस्तारको काम भएको उनले बताए ।