© २०२३
बुटवल, १२ पुस ।
लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप पुरुष एक दिने प्रदेश क्रिकेट प्रतियोगिता सुरु भएको छ । सिद्धार्थनगर क्रिकेट स्टेडियम, भैरहवामा विहिबार रुपन्देही र कपिलवस्तु जिल्लाबिचमा उद्घाटन खेलसंगै प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै रुपन्देही क्रिकेट खेलको उर्वरभूमि भएको बताए । पहिलोपटक प्रदेश छनौट हुन गैरहेको भन्दै आगामी दिनमा यस्ता गतिविधि बढ्दै जाने उनले प्रतिवद्घता जनाए । सरकारी र निजीस्तरबाट समेत खेलकुद पूर्वाधार र विकासका गतिविधि अघि बढेको उनले बताए ।
लुम्बिनी क्रिकेट खेलको मुख्य क्षेत्र भएको प्रमाणित भएको भन्दै उनले लुम्बिनीको उत्कृष्ट टिम तयार बन्न सक्ने उनले बताए । खेलकुदको आधार नीतिनिर्माण, संरचना र गतिविधि मुख्य भएको भन्दै यसमा सरकारसंगै निजीस्तरबाट समेत सहकार्य जरुरी रहने उनले बताए ।
कार्यक्रममा रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले क्रिकेटको गतिविधि पछिल्लो समय बढेको बताए । ‘क्रिकेटको नयाँ यात्रा शुरु भएको छ’— उनले भने । क्रिकेट प्रेमी र संघसंस्थाहरु क्रिकेटको प्रतियोगिता र गतिविधि बढेको उनले बताए । जिल्ला छनौट हुँदै प्रदेशको कार्यक्रम हुँदै राष्ट्रिय टिमको टिममा खेलाडी अवसर पाउने वातावरण सृजना भएको उनले दाबी गरे ।
कार्यक्रममा संस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरी, क्यानका निवर्तमान कार्यबाहक सचिव प्रशान्तबिक्रम मल्ल, नवलपरासी क्रिकेट संघका अध्यक्ष कृष्ण श्रेष्ठ, अन्तराष्ट्रिय एम्पायर सत्यजित सरकार, प्रदेश युवा परिषदका सदस्य धनु रायमाझी, राष्ट्रिय टिमका प्रशिक्षक वसन्त शाहीले प्रतियोगिताको सफलताको शुभकामना दिए ।
प्रदेश टिमका मुख्य छनौट संयोजक धिरज अधिकारीले सबै जिल्लाबाट उत्कृष्ट खेलाडीहरुलाई प्रदेश टिममा अवसर दिने बताए । छनौट खेल पुसको १२ देखि २२ गतेसम्म चल्ने प्रदेश सदस्य तथा संयोजक प्रथम पराजुलीले बताए । छनौट खेल अन्तरगत सिद्धार्थनगरमा कपिलवस्तु, परासी, पाल्पा र रुपन्देही जिल्ला तथा लमहीमा बाके, बर्दिया र दाङ जिल्लाको खेल हुने छन् ।