© २०२३
कति लेखियो लेखियो– यो नेपालमा माओवाद भन्ने चिजको उद्देश्य नै इसाईवाद हो भनेर । तर, मसँग साथी भएका धेरै धर्मगुरु–चर्मगुरु–गर्म गुरुहरू मैले लेखेका कुरामा हेरेको नहेरै गर्नुभयो । उहाँहरूलाई त्यो गुह्य कुरो सेयर त कता हो कता औँठाछापको निसाना हान्न पनि मन लागेन । किनकि उहाँहरूलाई अझैपनि कतै त्यही इसाईवादभित्रको माओवादको अभिनन्दनको पात्र बन्ने आकांक्षाले छोड्न सकेको छैन । प्रचण्ड आदि नेताहरूको पीताम्बरी छद्मभेषको गुणगानबाट कुनै सांसारिक पदको लाभ लिने मोहले पनि छोडेको छैन । तर पनि सनातन धर्मका संरक्षक स्वामीजीहरू, गुरुहरू एवम् साथीभाइहरूले गरेका गुणगानका उत्साहले कलम चलाउन भने छोडिएको छैन । त्यही माओवादभित्र घुसेर शास्त्रीय चिन्तन गर्नेलाई राम्रो भन्न पनि छोडिएको छैन । यहाँ राम्रोलाई राम्रो भन्न नसक्नु नै लोभ या कुनै पदलोलुपताको कारण हो । धेरैलाई ठूलो मान्छे बन्नु छ । सबैले ढोग्ने मान्छे बन्नु छ । विवादित बन्नु छैन । सर्वमान्य बन्नु छ । सर्व धर्म समभावको नाटक गर्नु छ । तर योगी नरहरिनाथ जस्तो सत्य कुरो गरेर जनतालाई सत्य मार्गमा चलाउनु भने छैन । सत्य सनातन वैदिक धर्म जसको मुख्य सिद्धान्त नै सर्वे भवन्तु सुखिनः छ त्यस्तो खालको धर्मको सदस्य भएर विश्वमा शान्ति ल्याउनु छैन । ल्याउनु छ त केवल विकासका नाममा धर्म संस्कार र संस्कृति मास्ने म्याउवाद ल्याउवाद खाउवाद अनि नरक जाउवाद । त्यसैका लागि हो यो मित्रराष्ट्रका आदरणीय नेता माओ जसको मार्गनिर्देशनमा चिन कहाँ पुग्यो, उनै माओको वदनाम गराएर युरोपियन र अमेरिकीको नोकरीले ल्याइएको माओवादका नामको इसाइवाद मिसाइवाद अनि जनता चुसाईवाद ।
अतः तिनै वादका प्रवक्तामध्येका जनार्दनले चर्चको शिलान्यास गर्दै हिंँड्नुपर्ने, सुदन किराँतीले इसाइ विरोधी संविधान विरोधी हुन् भनी बक्बकाउनु पर्ने एवम् बाबुरामले सनातन परम्पराको खेदो खन्दै भौँतारिनु पर्ने । यस किसिमका कार्यहरू त अहिले नयाँ बनेका पालिकाहरूमा कति हुन्छन् हुन्छन् । पाष्टरहरूको बीजारोपणबाट उत्पन्न रुखहरूले दुःख दिन थाल्ने क्रम बल्ल चल्न थालेको छ । नरेन्द्रजङ्ग पिटर र केबी रोकाया जस्ता पाष्टरहरूलाई माओवादीले संरक्षण गरेर राखेको पनि यसैका लागि हो ।
दार्शनिक कार्ल माक्र्सले पादरीहरूद्वारा इसाई धर्मका नाममा गरीब जनतामाथि गरिएको अन्याय र अत्याचारबाट बचाएर लैजान धर्मलाई नसाको राजा अफिमका रूपमा व्याख्या गरेका थिए । किनकि जनताहरूलाई पादरीहरूले यतिसम्म जड बनाएका थिए कि जनताले आफुले नखाएर नलगाएर भएपनि स्वर्ग जाने नाममा बेचिने महङ्गा टिकटहरू खरिद गर्ने गर्थे । यस किसिमको विषाक्त नसामा जनता झुमेका देख्दा नै दार्शनिक कार्लमाक्र्सले इसाई धर्मलाई विषाक्त अफिमको नसाका रूपमा परिभाषित गरी नास्तिक बन्न सुझाव दिएका थिए । तर यस किसिमको परिभाषा पछि इसाई मिसनरीहरूले अन्य देशमा रहेका सनातन धर्म संस्कार मेटाएर इसाईयत फैलाउनका लागि प्रयोग गर्न थाले । पहिला अन्य देशमा रहेका त्यहाँका धर्मलाई अन्धविश्वास भन्न सिकाई कम्युनिष्ट बनाइयो । अनि पछि विस्तारै विस्तारै इसाई बनाउन थालियो । त्यसको ज्वलन्त उदाहरण अफगानिस्तान रुस आदि देश हुन् भने ताजा उदाहरण नेपाल नै हुन लागेको छ ।
अतः माओवादको उत्पत्ति देश बनाउन नभएर देशलाई इसाइमय बनाउनु नै हो । रोल्पा, रुकुम, गोर्खा लगायत देशका विभिन्न स्थानहरूमा बनाइएका चर्चहरू यसका उदाहरणहरू हुन् । २०६२–६३ अघि गरिएका पुजारी एवम् गुरु हत्या र त्यसपछि देशमा विभिन्न प्रलोभनमा पारी गराइएको धर्मान्तरण त झनै प्रत्यक्ष प्रमाण नै हो । हाम्रो देशमा चलिआएको सनातन धर्म जसले सबैको भलो चिताउने काम गथ्र्यो यस किसिमको साझा धर्मलाई तहसनहस बनाएर खाइसार र लाइसार सिकाउने एवम् कुनै अनुशासन नै नभएका विभिन्न किसिमका रिलिजनका माध्यमले यहाँ अशान्ति फैलाउनु नै यिनीहरूको कार्य रहिआएको छ । मदर टेरेसाले पनि विभिन्न विकासका नाममा भारतमा इसाई धर्मको प्रचार प्रसार गरेकी थिइन् । यस कामका लागि उनलाई मुख्यरूपले पश्चिम बङ्गालको कम्युनिष्ट सरकारले साथ एवम् ओतप्रोत दिएको थियो । त्यस्तै हाम्रो देशमा पनि माओवादका नाममा रहेको यो इसाइवादले कहिले जनार्दनबाट विकासको लहर ल्याएको जस्तो गरेर हुन्छ या त सुदन किराँतीबाट सुशासनको लहर ल्याएको जस्तो गरेर हुन्छ या त गोपाल किराँतीबाट जनजातीका कुरा गराएको जस्तो गरेर हुन्छ त्यो छद्मभेषी उद्देश्य त नेपाललाई इसाईकरणको योजना अनुसार नै तहस नहस पार्नु नै छ । पूर्वी नेपालमा भइरहेको आन्दोलन अहिले जनजातिका पक्षमा भएको भनेर प्रचार प्रसार गरिएपनि यसको मुख्य उद्देश्य नै पूर्वी नेपाललाई पनि भारतको नागाल्याण्ड जस्तो बनाउनु नै हो । जसरी भारतको नागाल्याण्डमा रहेका त्यहाँका आदिवासीहरूलाई क्रिश्चियन बनाई भारतलाई टाउको दुखाइको विषय बनाइयो त्यसरी नै यहाँका आदिवासीहरूलाई पनि उल्टापुल्टा इतिहास पढाएर क्रिश्चियन बनाएर देशलाई अशान्त पार्नु नै छ ।
अतः अझैपनि फल्नाले यस्तो गरो र उस्तो गरो, यसरी सुध्रियो, त्यसरी रुद्राक्षको माला लगायो, टिका लगाएर हिँड्छ, मन्दिर जान्छ भन्दापनि उसको पार्टीको मुख्य उद्देश्य नै इसाइकरणको अभियान भएकाले त्यसको भण्डाफोर गरी देशलाई बचाउनु परेको छ । धर्मछाडा, कर्मछाडा एवम् सुहृत्छाडाहरूलाई के को इज्जत दिने ? त्यस्तालाई देशबाट लखेट्नुपरेको छ । इसाइकरणका नाममा भइरहेको वामपन्थलाई रामपन्थमा बदल्नु परेको छ ।