© २०२३
नवलपुर, ८ पुस ।
पुर्वी नवलपरासी देवचुलीको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था यस वर्ष गण्डकी प्रदेशकै उत्कृष्ट हुँदै पुरस्कृत भएको छ ।
देवचुली नगरपालिका वडा नम्बर १३ मा प्रधान कार्यालय रहेको उक्त सहकारी संस्थालाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) ले उत्कृष्ट घोषणा गरेको हो ।
नेफ्स्कूनले हरेक वर्ष विभिन्न विधामा उत्कृष्ट हुने सहकारीलाई पुरस्कृत गर्दै आएको छ । आफ्नो ३२ औंँ वार्षिक साधारण सभाका अवसरमा यस पटक सो संस्थालाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरिएको हो ।
वि.सं. २०५४ मा स्थापना भएको संस्थाका २३ हजारभन्दा बढी सदस्य तथा कूल पूँजी १ अरब ३७ करोड ८० लाख ७३ हजार रुपैयाँ रहेको छ । नवलपुर कार्यक्षेत्र रहेको मध्य नेपाल सहकारीले देवचुली नगरपालिका, गैंडाकोट नगरपालिका र कावासोती नगरपालिकाका १२ शाखाबाट वित्तीय सेवा प्रवाह गरिरहेको छ ।
सहकारी संस्थाको समग्र वृत्ति–विकास र सदस्य केन्द्रित सेवाले नै उत्कृष्ट भएको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलमणी पौडेलले बताए । उनका अनुसार संस्थाले वित्तीय सेवाका अतिरिक्त एसएमएस, मोबाइल बैंकिङ र रेमिट्यान्स सेवासमेत उपलब्ध गराउँदै आएको जानकारी दिए ।