© २०२३
बुटवल, २ पुस ।
कालिका माध्यामिक विद्यालयको ६३ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा तेस्रो जिल्ला स्तरीय कालिका रनिङसिल्ड प्रतियोगिता २०८० सोमबारदेखि शुरु भएको छ । विद्यार्थीहरुमा लुकेर रहेका खेलकुद प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं. १० का वडाअध्यक्ष बल बहादुर पुन, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठक, प्याब्सनका केन्द्रीय सदस्य तथा न्यु होराईजन बोर्डिङ स्कुलका प्राचार्य लोकनाथ उपाध्याय, बुटवल कालिका कलेज ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामी, शिक्षक अभिभावक संघ अध्यक्षय केशवराज पोखरेलले टर्च खेलाडीहरुलाई हस्तान्तरण, मार्चपाससहित बेलुन आकाशमा उडाएर कार्यक्रमको उद्घाटन गरेका छन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. १० का वडाअध्यक्ष बल बहादुर पुनले खेलकुदलाई प्राथमिकता दिएर आफुहरु निरन्तर लागेको बताए । सरकारबाट गर्नुपर्ने जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता एउटा विद्यालयले अगुवाई गरेको हुँदा आफुहरु सधै सहयोगको लागि तयार रहेको उनले बताए ।
खेलाडी उत्पादनको आधार विद्यालय खेलकुद प्रतियोगिता र अभ्यास भएको भन्दै यसमा सरकारको लगानी बढाउन जरुरी रहेको उनले बताए । उनले यो वर्ष प्रतियोगिता संचालन गर्न ३ लाख रुपैयाँ विनियोजन भएको भन्दै यसलाई बढाउँदै लैजाने बताए । वडास्तरबाट हरेक खेल गतिविधिलाई आफुहरु निरन्तर सहयोग गर्दै आएको उनले बताए ।
कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले ‘हाम्रो कालिका, राम्रो कालिका’ नारा अनुसार नै विद्यालय शैक्षिक र खेलकुद गतिविधिमा पनि उत्कृष्ट रहेको बताए । अतिरिक्त क्रियाकलापमा गरिएको लगानीको कारण विद्यार्थीहरुको शैक्षिकस्तर उचो भएको उनले बताए ।
नगरभित्रका सामुदायिक र नीजि विद्यालयहरुको योगदानका आधारमा खेलकुद गतिविधिमा पालिकाबाट सहयोग गर्ने उनले प्रतिवद्घता उनले जनाए ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य तथा न्यु होराईजन बोर्डिङ स्कुलका प्राचार्य लोकनाथ उपाध्यायले कालिका माविले सामुदायिक विद्यालयतर्फ देशमै उत्कृष्ट भएर यस क्षेत्रको गरिमा बढाउन सफल भएको भन्दै यसलाई निरन्तरता दिने गरी लाग्न सुझाव दिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यालय ब्यवस्थापन, शिक्षक, विद्यार्थी र अभिभावकहरुको सहयोगमा उत्कृष्ट बन्न सफल भएको बताए ।
मंगलबारदेखि सेकटर ए र बि मा खेलकुद गतिविधि शुरु हुने उनले बताए । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, रिले, तेक्वान्दो (छात्र÷छात्रा) पाँच विधामा ३२ स्वर्ण, ३२ रजत र ३२ कास्य गरी कुल ९६ वटा पदकको लागि प्रतिस्पर्धा हुने खेल संयोजक हरिश वलीले बताए ।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि द्वितीय टिमले ३० हजार, तृतीय टिमले नगद २० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । कार्यक्रममा विद्यालयका अध्यक्ष नित्यानन्द ज्ञवालीले पढाईसंगै खेल जिवनको अभिन्न अंग भएको बताए ।
वार्षिकोत्सवलाई सप्ताहब्यापी रुपमा खेलकुद प्रतियोगिता गरेर विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने गरी कार्यक्रम गरेको भन्दै यसमा सरकारबाट थप सहयोग जरुरी रहेको बताए । प्रतियोगितामा जिल्ला भरिका सामुदायिक र संस्थागत गरि २९ विद्यालयका ८ सय बढी विद्यार्थीहरुले खेलमा प्रतिस्पर्धा गर्ने शिक्षक वसन्त बहादुर खत्तड थापाले बताए । गतवर्ष कुँवरवर्ती विजेता रहेको थियो ।