© २०२३
बुटवल, १ पुस । मार्शल आर्टको विधाको रुपमा रहेको जुडो खेलको विकास र नया खेलाडी उत्पादन गर्ने उदेश्यका साथ रुपन्देही जुडो संघ गठन भएको छ । बुटवलमा आईतबार भएको खेलप्रेमीहरुको भेलाबाट महेन्द्र लिगलको अध्यक्षतामा ११ सदस्यीय संघ सर्वसम्मत चयन भएको हो । जसको उपाध्यक्षमा शोभाखर बन्जाडे, सचिव सचिन श्रेष्ठ, कोषाध्यक्ष एकमाया कुमारी आले तथा सदस्यमा ज्ञानेन्द्र श्रेष्ठ, संगिता सिह, विकास श्रेष्ठ, सित्तल ज्ञवाली, नन्दु काउचा, सुमित गुरुङ र रुपक लामा रहेका छन ।
यसैगरि आईतबार नै बसेको भेलाबाट केन्द्रिय प्रतिनिधिका रुपमा अध्यक्ष महेन्द्र लिगल र सचिव सचिन श्रेष्ठलाई चयन गरेको छ । यसैगरि बैठकबाट विभिन्न ब्यवसायिक, सामाजिक र खेलकुद क्षेत्रको प्रतिनिधित्व हुने गरि सल्लाहकारहरु समेत मनोनित गरिएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री (हरि), समितिका सचिव राजेन्द्र श्रेष्ठ, नेपाल औषधी ब्यवसायी संघका सुनिल श्रेष्ठ, दीप बोर्डिङ स्कुलका सुरेन्द्र शाक्य, उद्योगी माधव रेग्मी, पत्रकार दिनेश पाण्डेलाई सल्लाहकारमा मनोनित गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल जुडो संघका केन्द्रिय प्रतिनिधि राजेश श्रेष्ठले जुडो एक आधुनिक जापानी मार्सल आर्ट, लडाकू स्तरको ओलम्पिक खेल भएको बताए । दुई जापानी शब्द ’जु’ र ’डो’ मिलेर बनेको जुडोका शाब्दिक अर्थलाई ‘जु’ अक्षरको अर्थ बिनम्र वा भद्र र ‘डो’ अक्षरको अर्थ मार्ग वा पथ भन्ने बुझिने उनले बताए । यसअर्थमा जुडोको शाब्दिक अर्थ बिनम्रमार्ग हुन्छ । विशुद्ध बुद्धि र बलको सन्तुलन समायोजित खेल जुडोले मानवता, भातृत्वता र आत्मस्वाभिमानको समेत प्रतिनिधित्व गर्दछ । जुडो खेल सन् १८८२ मा प्रोफेशर जिगोरो कानोद्धारा सुत्रधार गरिएको हो । तसर्थ जुडो खेलको पिता स्व. प्रोफेशर जिगोरो कानो हुन् । जुडो खेलका तरिकाहरु ‘अल्प बलमा अधिक असर’ सिद्धान्त वा मूलमन्त्रलाई आत्मसाथ गरी खेलिन्छ । यो खेल ६ वर्ष देखी ८० वर्ष वा सो भन्दा माथि जुनसुकै पुरूष/महिलाका निम्ति, शारीरिक, मानसिक, सैद्धान्तिक, ज्ञानपूर्ण रोचक र फलदायक खेल मानिन्छ ।