© २०२३
बुटवल, २८ मंसिर । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानकबध निर्माण कार्यको पहिलो चरणको काम सम्पन्न भएको छ । करीब ६ महिनाको अवधिमा पहिलो चरणको काम सम्पन्न भएको हो। एक्स्ट्रा ओभल प्रालिका निर्देशक बिनोद कुवरले आफुहरुले करीब ५२ दिनमा अहिलेको पुर्वाधार तयार गरेको बताए । दुई वर्ष अघि जग्गा खरिद प्रकृया शुरु गरि तिलोत्तमा नगरपालिकाको वडा नं १७ स्थित पुर्व दरखसवामा साढे ५ विघा जग्गामा निर्माण भएको छ। फागुन १ गतेबाट मैदान खेल्न सकिने उनले दाबी गरे। क्रिकेट मैदान निर्माणको कुरालाई अहिलेको अवस्थामा आईपुगेको उनले बताए। खेलकुदमा पनि एकेडेमीक प्रक्रियामा सरकार लाग्नुपर्ने बताए । मैदानको दिगोपनाका लागि आफुहरु एकेडेमी संचालन गरेर आर्थिक पाटोलाई ब्यवस्थापन गर्ने सोच रहेको उनले बताए। भारतको जोडिएको सिमा क्षेत्रका कारण पनि यहाँ ब्यवसायिक रुपमा एकेडेमी चलाउने योजना रहेको उनले बताए ।
क्रिकेटमा अष्ट्रेलियाको उदाहरण दिदै जति धेरै क्रिकेट मैदानबाट धेरै खेलाडी उत्पादनमा जोड मिल्ने बताए । असोजको तेस्रो हप्ताबाट पहिलो चरणको कार्य शुरु भएको हो । ३ हजार ट्रिपर माटो राखेर मैदान सम्याईएको छ । मैदानमा दुबो लगाउने काम सम्पन्न गरिएको छ । मैदान वरपर ड्रेन निर्माण गर्नुका साथै फेन्सिङ गरिएको छ । पिच बनाईएको छ । साईड स्क्रिनको यो हप्तामै सम्पन्न हुने तयारीमा छ ।
माघबाट दोस्रो चरणको काम शुरु हुनेछ । यसमा पेभेलियन, चेन्जिङ रुम, क्यान्टिन, टेक्निकलका लागि रुमहरुको ५ हजार क्षमताको निर्माण कार्य शुरु गरिनेछ । चैतबाट साईडको सानो मैदानको काम पनि शुरु हुनेछ।जहाँ प्रशिक्षण गर्न मिल्नेछ ।
अर्को चरणमा मिडिया सेन्टर र थप प्याराफिट निर्माणको कार्य शुरु हुनेछ। प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट मैदानलाई रंगशालाको स्वरुपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैया लाग्ने अनुमान गरिएको छ।
प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले खेल विकासको आधार नीति नियम, पुर्वाधार विकास र खेलकुद गतिविधि मुख्य ३ खम्बाका रुपमा रहेको बताए । कुनै एउटा पक्ष बिना विकास अघि बढ्न नसक्ने भन्दै उनले निजि स्तरबाट लगानीमा निर्माण गरेर सरकारलाई सहयोग भएको बताए । प्रदेशबाट गरिने प्रतियोगिताको लागि आफ्नो क्षेत्रबाट सहयोग गर्न तयार रहेको उनले बताए ।
कार्यक्रममा पुर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा ब्राण्ड एम्बेसडर शक्ति गौचनले रंगशालामा होस्टेलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर संचालन हुनेछ। रंगशाला कम्पाउण्डमा चार तलाको भवन बनाई एक सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिईने बताए। टेष्ट मान्यता पाउन प्रत्येक प्रदेशमा एक मैदान आवश्यक पर्ने बताए। काठमाडौ बाहिर दुई वटा अन्तराष्ट्रिय मैदान रहेको रुपन्देही भएकोले यो जिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन सक्ने बताए। अबको पाच वर्षमा जति पनि देशको पुर्वाधार विकास गर्न सके धेरै उत्कृष्ट खेलाडि उत्पादनमा बल गर्ने उनले बताए ।
एक्स्ट्राटेक ओभलका चिफ अप्रेटर सुदिक्षा गौतम, मैदान निर्माणको अपरेसन पक्षको जिम्मा सुर्य कुवरले गरेका छन ।
युएईमा लामोसमय बसेर आबुधावीको शेख जायेद अन्तराष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठकले एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सात वटा पिच तयार भएको बताए । पिचलाई ७० मिटरको बाउण्डरी दिन सकिने गरि तयार भएको उनले बताए। पिचको गुणस्तर निक्कै उत्कृष्ट भएको उनले बताए ।
रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले पुर्वाधार विकासको आधार तयार भैरहेको बताए । पछिल्लोसमय पिएम कप पहिलोपटक काठमाडौ बाहिर आयोजना गर्ने अवसर पाएको भन्दै यो प्रतियोगिताको १० खेलमा केहि खेल यहाँ राख्न सकिने बताए ।
क्यानका निवर्तमान सचिव प्रशान्तबिक्रम मल्लले समन्वयलाई जोड दिनुपर्ने सुझाव दिदै पुर्वाधार विकासमा प्रकियागत कारण नै काममा ढिलाइ हुने गरेको दुखेसो गरे ।