© २०२३
सल्यान, २७ मंसिर । सल्यानको छत्रेश्वरी गाउँपालिकामा बुधबारदेखी १० दिने डकर्मी तालिम सुरु भएको छ । तालिमको गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले उद्घाटन गर्दै युवालाई सीप सिकाइमा तालिम उपब्धिमुलक हुने बताए । गाउँपालिका अध्यक्ष बुढाथोकीले तालिममा सहभागि धेरैजसोले विगत देखि नै मिस्त्री काम गरिरहेको हुदा यसलाइ थप निखार्न, नया ढंगले निर्माण कार्य गर्नेमात्र नभई सीप सिक्न र दक्षतालाइ बढाउन सहयोग मिल्ने बताए ।
सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोजना (सुस्वा) अन्तर्गत पालिकाभित्रका डकर्मी तालिम प्रदान गर्न लागिएको हो । विशेष गरेर सौचालय निर्माणलाई जोड दिदै तालिममा संरचना निर्माणका लागि उपयुक्त स्थानको छनौट, नक्सांकन, संरचना प्रणाली, निर्माण सामग्रीको गुणस्तर, भारबहन पद्धति, निर्माण सामग्रीको प्रयोग लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान प्रदान गरिने गाउँपालिकाको वास ईकाइले जानकारी दिएको छ ।
तालिम अन्तर्गत स्तरिय सौचालय नभएका तथा सौचालय नै नभएका गाउँपालिकाभित्रका २० वटा घरधुरीमा सौचालय निर्माण गर्ने लक्ष्य रहेको वास इकाईका प्राविधिक सहजकर्ता गम्भीरजंग चन्दले जानकारी दिए । उनका अनुसार ती घरहरुमा प्रशिक्षकहरु संगै सहभागि प्रशिक्षार्थीहरुले सौचालय निर्माण गर्नेछन् । यसले पुर्ण सरसफाइ उन्मुख गाउँपालिका बनाउन सहयोग पुग्ने अपेक्षा छ ।
तालिमको प्रमुख प्रशिक्षक हरि बहादुर खड्का र सहायक प्रशिक्षक युवराज खत्री रहेका छन् । सहभागिहरुले वस्ती स्तरमा नै पुगेर प्रयोगात्मक रुपमा भुकम्प प्रतिरोधी संरचना निर्माण बारे पनि ज्ञान र सीप सिक्ने वास सहजकर्ता सुरज वलीले जानकारी दिए । सौचालय बनाउन आवशयक पर्ने स्थानिय सामग्री वाहेक सिमेन्ट, छड, सिट, जस्ता पाता लगायत निर्माण सामग्री गाउँपालिका (सुस्वा) बाट नै उपलब्ध गराइने उनले जनाए । डकर्मी तालिममा सम्बन्धीत वडाबाट सिफारिस भए अनुसार जम्मा १० जना प्रशिक्षार्थी सहभागी छन् ।