© २०२३
काठमाडौँ ।
संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन्। राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार उनले पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन्।
गौतमको पदावधि अझै ८ महिना बाँकी थियो। गौतमले राजीनामाको कारण खुलाएका छैनन्।
उनको राजीनामा र नयाँ महासचिवबारे प्रतिनिधिसभाका समाभुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले छलफल गरेका छन्।
गौतम २०७७ वैशाख २२ गते संघीय संसद सचिवालयको महासचिवमा नियुक्त भएका थिए।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको सिफारिसमा गौतमलाई महासचिवमा नियुक्त गरिएको थियो।
महासचिवमा हुनुअघि गौतम संसद सचिवालयका सचिव थिए। गौतमले प्रशासनिक सुधार र कार्यसम्पादन व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गरेका थिए। उनी २०५१ सालमा संसद सेवा प्रवेश गरेका थिए।