© २०२३
बुटवल , २५ मंसिर। गुल्मीमा ३५ हजार राशिको पुरुष फुटबल प्रतियोगिता हुन लागेको छ । जिल्लाको फोर्टिन स्टार युवा क्लवले आफ्नो १३ औँ बार्षिकोत्सवको अवसरमा आगामी पौष ७ देखि १० गतेसम्म माध्यमिक विद्यालयस्तरीय प्रतियोगिताको आयोजना गरेको हो । कार्यक्रमबारे शनिबार गुल्मीको धार्मिक एवं पर्यटकीय स्थल रेसुङ्गाको यज्ञशाला मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।
प्रतियोगितामा कक्षा १० सम्ममा अध्ययनरत विद्यार्थीहरूले मात्र सहभागिता जनाउन सक्नेछन् । ‘चौथो फोर्टिन स्टार कप–२०८०’ नाम दिइएको उक्त प्रतियोगिता गुल्मी सदरमुकाम तम्घासको चिदिचौरमा हुने क्लवका अध्यक्ष विक्रम सिंह बुढाथोकीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार र द्वितिय हुनेलाई २५ हजारका साथै ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । आयोजकले प्रथम र द्वितीयका ट्रफी समेत सार्वजनिक गरेको छ ।
प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थी खेलाडीहरूले अनिवार्य रूपमा कक्षा ८ उत्तीर्ण भएको मार्कसिटको प्रतिलिपी उपलब्ध गराउनुपर्ने, खेलाडी अनिवार्य रूपमा पोशाकमा उपस्थित हुनुपर्ने लगायतका नियम पनि आयोजकले सार्वजनिक गरेको छ । प्रतियोगितामा खेलाडीलाई प्राथमिक उपचार र एक लाख बराबरको म्यादी बीमा समेत गरिने क्लबका खेल संयोजक अर्जुन मरासीनीले जानकारी दिए ।