© २०२३
काठमाडौं,२३ मंसिर । नेपाल सुपर लिग एनएसएल २०२३ मा आज दुई खेल हुँदैछ । पहिलो खेल धनगढी एफसी र स्पोर्टिङ इलामबीच हुनेछ । यो खेल दिउँसो १ बजे दशरथ रंगशालामा हुनेछ ।
धनगढी ३ खेलमा अपराजित हुंदै ७ अंकसहित दोस्रो स्थानमा छ । धनगढीले दुई खेल जित्दा एक बराबरी खेलेको थियो । शीर्ष स्थानको ललितपुर सिटी भन्दा एक अंकले पछि रहेको धनगढीलाई आजको खेल जित्दै शीर्ष स्थानमा पुग्ने अवसर छ ।
ललितपुरले ४ खेल खेलिसकेको छ र ८ अंक जोडेको छ ।
उता स्पोर्टिङ इलाम ४ खेलबाट ३ अंकसहित सातौं स्थानमा छ । इलामले यस सिजन सबैभन्दा धेरै ३ खेलमा हार बेहोरिसकेको छ । यदि धनगढीलाई हराउन सके इलाम शीर्ष चारमा पुग्नेछ ।
यस्तै आज हुने अर्को खेल बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्सबीच हुनेछ । यो खेल साँझ ५ बजे दशरथ रंगशालामै हुनेछ ।
काठमाडौं र बुटवल दुवैलाई आजको खेल जितेर अंक तालिकामा सुधार गर्ने अवसर छ । अपराजित काठमाडौं ३ खेलबाट ५ अंकसहित चौथो स्थानमा छ । बुटवललाई हराएमा काठमाडौंले लिग लिडर ललितपुरसँग समान ८ अंक जोड्नेछ ।
उता बुटवल ४ खेलबाट ४ अंकसहित छैटौं स्थानमा छ । काठमाडौंलाई हराएमा बुटवलले पनि अंक तालिकामा सुधार गर्नेछ । बुटवलले चार मध्ये एक जित र एक बराबरीको नतिजा निकाल्दा दुई खेलमा हार बेहोरेको छ ।