© २०२३
बुटवल, १८ मंसिर । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मधुमेहका बिरामीहरुका लागि छुट्टै क्लिनिक सञ्चालनमा आएको छ । अस्पतालका अध्यक्ष जीवन वझाले सोमबार क्लिनिकको उद्घाटन गर्दै यो सेवालाई सहज र सरल बनाउने गरि लाग्न चिकित्सकहरुलाई आग्रह गरे । अध्यक्ष वझाले रोग लाग्नुभन्दा पहिले नै निवारण हुनेगरि सचेतना चलाउनेतर्फ सरकारका कार्यक्रमहरु अघि बढाउनुपर्ने समेत आवश्यकता रहेको उनले बताए । चिकित्सकबाट बिरामीप्रति गरिने व्यवहार ५० प्रतिशत रोग निको हुने आधार भएको भन्दै उनले नम्र व्यवहार र सेवामा जोड दिन आग्रह गरे । क्लिनिक सञ्चालनको अवसरमा अध्यक्ष वझासहित अस्पताल कर्मचारीहरुले समेत मधुमेहको परीक्षण गरेका थिए ।
अस्पतालका मेसु डा. सुदर्शन थापाले छुट्टै क्लिनिक सञ्चालनसँगै मधुमेहका बिरामीलाई राहत मिल्ने बताए । एउटै बिरामीले २ दिनसम्म समय खर्चिनुपर्ने अवस्थाको अन्त्यका लागि यो सहयोगी हुने उल्लेख गरे । क्लिनिकबाट अब दैनिक १ सय बढीले सेवा लिन सक्ने बताए । क्लिनिकमा विहान ७ बजेदेखि नै ल्याव टेस्टका लागि नमूना संकलन गरिने बताउँदै डा. थापाले अन्य सेवाहरुसहित अब दैनिक ३ सय जनालाई प्रयोगशालाबाट सेवा प्रदान गर्न सकिने उल्लेख गरे । अस्पतालमा दैनिक ५० जना बढी मधुमेहका बिरामीहरु परीक्षणका लागि आउने गरेकोमा अब यसको संख्यामा वृद्धि हुने अस्पतालका प्रशासकीय अधिकृत राजन केसीले बताए ।