© २०२३
काठमाडौ, १८ मंसिर । एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ । आइतबार साझ भएको खेलमा बुटवल लुम्बिनीले स्पोर्टिङ इलाम एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । योसंगै बुटवल लुम्बिनी ३ अंकका साथ अंक तालिकाको सातौ स्थानमा चढ्यो । समान तीन खेल नै खेलेको इलाम २ मा हार र एकमा जित निकाल्दै ३ अंकका साथ छैटौ स्थानमा छ ।
प्रतियोगितामा धनगढी एफसी भने ३ खेलमध्ये २ मा जित निकाल्दै ७ अंकका साथ अंक तालिकामा पहिलो र ललितपुर सिटि ५ अंकका साथ दोस्रो तथा पोखरा थन्डर समान ५ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा लुम्बिनीको जितमा स्टेफन बियोङ र एरिक विष्टले गोल गरे । इलामका लागि भने अब्दुलाये बाले सान्त्वना गोल गरे । खेलको ४८ औँ मिनेटमा बुटवलका फरवार्ड जिलेस्पी जङ्ग कार्कीले निकालेको क्रसमा बियोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ७९ औँ मिनेटमा इलामका अब्दुलाये बाले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । उनले अमथ एनडाको पासमा बराबरी गोल फर्काएका हुन् । खेल सकिन तीन मिनेट बाँकी छँदा बुटवलका कप्तान एरिक विष्टले फ्रिकिकमार्फत शानदार जादुमय गोल गर्दै टोलीको जित सुनिश्चित गरे । बुटवल–लुम्बिनीको यो जितमा एक पछि अर्को विपक्षी टिमको आधा दर्जन बढी प्रहार रोेकेका गोलरक्षक मोहमोदोउ ‘प्लेयर अफ द म्याच’ बन्दै नगद ३० हजार रुपैया र ट्रफीबाट पुरस्कृत भए ।
सोमबार झापा र काठमाण्डौका बिचमा खेल हुने छ ।