© २०२३
काठमाडौं ।
बैंकहरुमा १ खर्ब बढीको अधिक तरलता थुप्रिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिर १४ गतेसम्ममा बैंकहरुमा १ खर्ब ३ अर्ब रुपैयाँ अधिक तरलता थुप्रिएको छ। यो सिआरआर बाहेकको रकम हो।
बैंकहरुमा कर्जाको माग नहुँदा अधिक तरलता थुप्रिदै गएको छ। अहिले बैंकहरुमा तरललता बढ्दै गएका कारण ब्याजदर समेत घट्दै गएको बैंकरहरु बताउँछन्।
अहिले बैंक तथा वित्तीय संस्थामा साढे ५ खर्बभन्दा धेरै लगानीयोग्य रकम थुप्रिएको छ। गत बुधबारसम्मको तथ्यांकक हेर्दा बैंकहरुको औसत सिडि रेशियो ८०.९२ प्रतिशतमा झरीसकेको छ। अहिले बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५९ खर्ब ४९ अर्ब रुपैयाँ छ। राष्ट्र बैंकले सिडि रेशियो ९० प्रतिशतसम्म कायम गर्न पाउने व्यवस्था गरेकोले बैंकहरुसँग ५ खर्ब ४० अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको देखाउछ। अहिले बैंकहरुले सिडि रेशियो केन्द्रीय बैंकले तोकेको सीमाभन्दा १ प्रतिशत तल नै राख्दा पनि झण्डै ५ खर्ब लगानी गर्न सक्ने क्षमता छ।
बुधबारसम्मको तथ्यांक हेर्ने हो भने बैंकहरुको अन्तरबैंक सापटीको ब्याजदर १.३० प्रतिशतमा झरेको छ। केन्द्रीय बैंकले ब्याजदर करिडोरको न्युनतम सीमा साढे ४ प्रतिशत राखे पनि करिब ३ महिनादेखि अन्तरबैंक ब्याजदर त्यो सीमाभन्दा तल रहेको देखिन्छ।