© २०२३
भैरहवा, १७ मंसिर ।
भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तर बिद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएका दुई खेलमा मनकामना इङ्गलिस बोर्डिङ हाइ स्कुल र लुम्बिनी शिक्षा निकेतन इङ्गलिस बोर्डिङ हाई स्कुल विजयी भएका छन् । मनकामनाले नेपाल नालन्दा स्कुललाइ ३ विकेटले र लुम्बिनी शिक्षा निकेतनले काशी नोबेल एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो ।
सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नालन्दाले १४ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै ९८ रनमा समेटिएको थियो । उसका लागि समिर अलीले ३९, सारिक अलीले १३ र साहिल हरिजनले १० रन बनाए । बलिङतर्फ मनकामनाका प्रमोद धोबी र अजय गुप्ताले समान ३–३ विकेट र अनुराग चौधरीले २ विकेट लिए ।
९९ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको मनकामनाले १७ दशमलव १ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । मनकामनाका लागि राहुल क्षेत्रीले २८ रन, प्रमोद धोबीले २५ रन बनाए । बलिङतर्फ समिर अली र सम्राट खातीले क्रमशः ३ र २ बिकेट लिए । मनकामनाका प्रमोद धोबी म्यान अफ द म्याच घोषित भए ।
अर्को खेलमा टस जितेर ब्याटिङ गरेको काशी नोबलले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय १६ रन बनायो । उसका लागि सन्दीप रोक्काले ४९ रन र सोनाम लामाले २१ रन बनाए । बलिङमा लुम्बिनीका सबिर आलमले ४, अब्दुल हबिब र रजौअल हकले समान २–२ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको लुम्बिनी शिक्षा निकेतन १९ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै १ सय १८ रन बनाएर विजयी भयो । उसका लागि अब्दुल हबिबले अबिजित २९ रन रजौअल हकले अबिजित २८ रन बनाए । अलिउद्दिन खानले २५ र सन्दिप लोधले १८ रन बनाए । बलिङमा काशीका सौगात लिम्बुले १ विकेट लिए । लुम्बिनीका सबिर लामा म्यानाफ द म्याच घोषित भए ।
मंसिर २३ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीका १६ वटा विद्यालयको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताए । प्रतियोगिताको विजेतालाई रु. ५० हजार, उपविजेतालाई रु. २५ हजारसहित साथै ट्रफी, मेडल र प्रमाणपत्र, म्यान अफ द सिरिजलाई रु. १० हजारसहित ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याटरलाई रु. ५ हजारसहित ट्रफी र प्रमाणपत्र र बेष्ट बलरलाई रु. ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संयोजक विजयसिंह ज्ञवालीले जनाए ।
त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच हुनेलाई रु. १ हजारसहित शिल्ड र प्रमाणपत्र र बेष्ट अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने ज्ञवालीले बताए ।