© २०२३
काठमाडौं, १४ मंसिर ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा ल्याउने अन्तिम तयारी गरेको छ। बिहीबार साँझसम्म या शुक्रबारसम्म मौद्रिक समीक्षा आउने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक समीक्षाको प्रतिवेदन तयार पारेर बुझाइसकेको छ। आजै म्यानेजमेन्ट कमिटीमा छलफल हुने जनाइएको छ । राष्ट्र बैंक पहिलो समीक्षाबाट बैंक दर, नीतिगत दर र निक्षेप संकलन दरलाई घटाइने जनाइएको छ । तीन महिनादेखि अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल हुँदा निक्षेप संकलन दर घटाउनुपर्ने दबाब राष्ट्र बैंकलाई परेको छ ।
ब्याजदर करिडोरको सिद्धान्तअनुसार निक्षेप संकलन दरभन्दा अन्तरबैंक ब्याजदर कम भएको अवस्थामा राष्ट्र बैंकले निक्षेप संकलन गर्नुपर्ने र बैंक दरभन्दा अन्तरबैंक ब्याजदर बढी भएको अवस्थामा रिपो जारी गर्नुपर्छ । तर, राष्ट्र बैंकले निक्षेप संकलन दरमा बजारबाट पैसा उठाउँदा आन्तरिक ऋणको ब्याज बढ्नसक्ने भन्दै राष्ट्र बैंकले ब्याजदर करिडोरको सिद्धान्तविपरीत काम गर्दै आएको छ ।
रेमिट्यान्स आप्रवाहमा १ प्रतिशत अतिरिक्त ब्याज दिँदा बैंक वित्तीय संस्थाको आधार दर बढेकाले राष्ट्र बैंकले पहिलो समीक्षामार्फत रेमिट्यान्समा १ प्रतिशत बढी ब्याज दिन पाइने व्यवस्थामा संशोधन गर्न खोजेको छ ।