© २०२३
सल्यान, १२ मंसिर ।
सल्यानको छत्रेश्वरी गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकहरुले लैंगिक हिंसा विरुद्ध सामूहिक प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलबार हिंसा नगर्ने, नसहने र भएको देखेमा आवाज उठाउने प्रतिवद्धता गरेका हुन् । गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढा लगायत कर्मचारी तथा सर्वसाधारण नागरिकहरुले महिला हिंसा विरुद्ध सामूहिक प्रतिबद्धता जनाएका हुन् ।
छत्रेश्वरी गाउँपालिका अन्तर्गत वास ईकाईको आयोजनामा सामूहिक हस्ताक्षर कार्यक्रम सम्पन्न गरिएको वास संयोजक निमराज केसीले जानकारी दिए । कार्यक्रममा सहभागीहरुले समाजमा छोरा र छोरी दुवै बराबरी भन्ने सोचलाई आत्मसात गर्दै लैंगिक हिंसाविरुद्ध व्यापक जनचेतना जगाउन आवश्यक रहेको बताएका थिए ।
महिलाहरुले प्याड बनाउने सीप सिके
यसैविच छत्रेश्वरी गाउँपालिकामा घरेलु सेनेटरी प्याड निर्माण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । महिला स्वास्थ्य स्वयमसेविका, विद्यालयका छात्रा, महिला शिक्षकलगायत सहभागी महिलाहरुले प्याड बनाउने सीप सिकेका हुन् ।
तालिममा सहभागी छत्रेश्वरी गाउँपालिका ५ की सिता केसीले आफूले पहिलोपटक कपडाको प्याड बनाउने सिप सिकेको र अब बजारमा पाइने प्याडभन्दा घरमै निर्माण गरेर प्रयोग गर्ने बताइन् । महिनावारी स्वच्छता व्यवस्थापनका लागि आवश्यक ज्ञानसंगै प्याड बनाउने तरिका सिकेको अर्का सहभागी छत्रेश्वरी ३ बस्ने मंगली सार्कीले बताईन् । मर्यादित महिनावारीबारे सचेतना फैलाउनका लागि तालिममा धामी तथा पुजारीहरुलाई पनि सहभागी गराइएको थियो ।
घरेलु प्याड निर्माण तालिम संगै मर्यादित महिनावारी र प्याडको बजारीकरणका विषयमा पनि अभिमुखिकरण गरिएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । तालिम समापन अवसरमा सहभागीहरुले तयार गरेको सेनेटरी प्याड प्रदर्शन गरिएको थियो भने गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढाले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । घरेलु सेनेटरी प्याड निर्माण गरी यसको प्रयोगलाई प्रबद्र्धन गर्नका लागि तालिमको आयोजना गरिएको वास सहजकर्ता सुरज वलीले जानकारी दिए ।