© २०२३
बुटवल, मंसिर १२ । बंगलादेशको ढाकामा हुने महिला कबड्डी लिगमा लुम्बिनी प्रदेशकी सृजना कुमारी थारुसहित नेपालका चार खेलाडीले भाग लिने भएका छन । थारु नवलपरासी जिल्लाकी हुन । बंगलादेश कबड्डी संघको आयोजनामा मंसिर १४ देखि २२ गतेसम्म हुने लिगमा नेपालका अनुजा कुलुङ राई, गंगा घिमिरे, जयन्ती बडु र सिर्जनाकुमारी थारुले मेघाना कबड्डी क्लबबाट खेल्ने भएका हुन ।
असोजमा चीनको हाङचउमा सम्पन्न १९ औं एसियाली खेलकुदमा नेपालले ऐतिहासिक कांस्य पदक जित्दाका खेलाडीहरुमध्ये चार जना छनौटमा परेका हुन । अफिसियलमा भगवती अधिकारी समेत टिममा छिन । अखिल नेपाल कबड्डी संघले खेलाडीहरुलाई बिदाई गरेको छ ।
संघका केन्द्रिय उपाध्यक्ष कुमार आलेले सरकारको न्युन लगानी हुदाहुदै कबड्डी खेलबाट नेपाल अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएको बताए । उनले नेपालका खेलाडीहरु ब्यवसायीक रुपमा खेल्ने अवसर पाउदा उनिहरुमा खेल क्षमता विकासमा योगदान मिल्ने बताए ।