© २०२३
काठमाडौँ ।
शीर्ष तीन राजनीतिक दलहरूबीच शान्ति सम्झौताका बाँकी कामहरू टुंगोमा पुर्याउनेबारे सहमति भएको छ।
शान्ति सम्झौताको १७ वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सो सहमति भएको हो।
उनीहरूबीच मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा भेटवार्ता भएको थियो। सो भेटमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक (टीआरसी)बारे सहमति भएको हो।
‘विधेयक संसद्मा छ, तीनशीर्ष नेताले शान्ति सम्झौता भएको दिन टीआसीलाई अघि बढाउने जेनेरल अन्डरस्टान्डिङ गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले भने, ‘हिउँदे अधिवेशनमा विधेयक पास हुन्छ। आज त्यही सन्देश उहाँहरूले दिनुभएको छ।’
सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १७ वर्ष पूरा भएको छ। विसं २०६३ मंसिर ५ गते शान्ति सम्झौता भएको थियो।
‘शान्ति सम्झौताको मर्म अनुसार शान्ति प्रक्रियाको बाँकी कामहरू टुंगोमा पुर्याउनेबारे उहाँहरूबीच सहमति जुटेको हो,’ उनले भने।
तीन शीर्ष नेताबिच सहमती जुटेसँगै अब हिउँदे अधिवेशनमा टिआरसी विधेयक संसदमा पास हुने सम्भावना छ। संसद्को कानुन न्याय तथा मानवअधिकार समितिमा रहेको उक्त विधेयक संसद्मा पेस गरेर पारित गर्नुपर्ने हुन्छ।
त्यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न पनि सहमति जुटेको छ।
‘संघीयता, गणतन्त्र र शान्ति समझौतको मर्म अनुसार आयोग गठन गर्ने र आवश्यक परेको एकीकृत रुपमा अघि बढ्ने सहमति भएको छ,’ बालुवाटार निकट स्रोतले भन्यो।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले पनि नेपाल भ्रमणका क्रममा संघीय संसद्लाई सम्बोधन गर्दै शान्ति प्रक्रियाका काम टुंगोमा पुर्याउन अन्तर्राष्ट्रिय सहयोग रहने बताएका थिए।
महासचिव गुटेरेसले टीआरसी पास गर्न दलहरूलाई सुझाव दिएका थिए। त्यसमा असन्तुष्ट एमाले बालुवाटारमा भएको मंगलबारको भेटपछि सहमत भएको हो।