© २०२३
बुटवल, २ मंसिर । दोस्रो संस्करणको नेपाल सुपर लिग २०८० (एनएसएल) को तयारीमा रहेको मोफसलका दुई टिम बिच मैत्रीपूर्ण खेल भएको छ । शनिबार देविनगर एन्फा एकेडेमी खेलमैदानमा पहिलो खेलमा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १—० गोलले पराजित गरेको छ । सुपर लिग अघि होम अबे अन्तरगत बुटवल लुम्बिनी एफसीको आतिथ्यतामा भएको खेलमा निराजन धामी नायक रहे । बुटवल लुम्बिनी एफसीका क्याप्टेन प्रकाश बुढाथोकीको क्रसमा निराजन धामीले खेलको १२ औ मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । नेपाली फुटबल खेलाडी र खेल विकासमा कोशेढुगाका रुपमा यो प्रतियोगितालाई लिईएको छ ।
फुटबलमा नया अभ्यासका रुपमा यो प्रतियोगिताको दोस्रो संस्करणको तयारी भईरहेको अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दीर्घ बहादुर केसीले बताए । मैत्रीपूर्ण खेललाई अभ्यासका रुपमा खेलाउन सके यसले खेलाडीको क्षमता बढाउन मद्यत मिल्ने उनले बताए ।
‘अभ्यास खेल गरिएको हो ।’—बुटवल लुम्बिनीका प्राविधिक प्रमुख याम बहादुर गुरुङले भने ।
प्रतियोगिताको एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले रेफ्रिलाई बल हस्तान्तरण गरि शुभारम्भ गरेका थिए ।
दोस्रो संस्करणको एनएसएल मंसिर ८ गते शुभारम्भ हुने छ । पहिलो संस्करण खेलेका टोलीमध्ये विराटनगर सिटी एफसी बाहिरिँदा नयाँ दुई टोली गरी ९ टोलीले प्रतियोगितामा सहभागिता जनाउने तालिकासमेत सार्वजनिक गरेको छ । पहिलो सिजनमा धनगढी फुटबल क्लबलाई हराउँदै काठमाडौँ रेजर्सले उपाधि जितेको थियो ।