© २०२३
मेरा केही प्रियजनहरू हालै लाङ्टाङ उपत्यकाको सेरोफेरो घुमेर आएका छन् । उनीहरूको त्यो यात्रा समुद्र सतहको १६० मिटरबाट शुरु भएर ४ हजार ७ सय ७० मिटरको उचाइसम्म पुगेको रहेछ । यात्रा अवधिमा खिचेका तस्वीरहरूद्वारा तिनले आफ्नो यात्रा वृतान्त बताएका छन् । तिनले हिमाली जनजीवनको संस्कृति, समाज र त्यहाँका मानिसहरूको सुखदुःखलाई प्रतिविम्वित गर्ने अरू पनि धेरै तस्वीरहरू सामाजिक सञ्जालमा राखेका छन् ।
एउटा पोष्टमा तीन मनुवाहरू क्यान्जिन रि १ र २ लाई बिलकुलै नजिकैबाट हेरिरहेका देखिन्छन् । तस्वीरको अग्रभागमा हिमालका चुचुराहरू छन् । कलिलो घामका किरणमा हिमाल चाँदीजस्तै चम्केको देखिन्छ । अवलोकनकर्ताहरूको पृष्ठ भाग मात्रै तस्वीरमा देखिन्छ ।
तस्वीरको शीर्षनुलेखमा (क्याप्सन)मा लेखिएको छ–
बिहान उठने बित्तिकै हिमाल हेर्न पाइयोस्…….. !
एउटा साहसिक यात्राको रोमाञ्च जस्तो ! प्रायः आइरहने एउटा सपना जस्तो ! वर्षौदेखि संगालिराखेको एउटा आकाङ्क्षाजस्तो ! मेरा प्रियजनहरूको हर प्रयासमा साहसिक यात्रा (एड्भेन्चर) त देखियो नै, त्यस बाहेक त्यो यात्रामा मैले तिनका देशप्रेम, हिमालसँगको अनुराग र हिमाली जनजीवनप्रतिको जिज्ञासा पनि देखेँ ।
समाज यही हो, हजारौ लाखौं मानिसहरू दिपावलीको तयारी गरिरहेका थिए । घरमा छिमेकी मुलुकहरूबाट आयातित सजावटी विजुलीका झल्लर सजाइरहेका थिए । सयपत्री फूलको जुगाड गरिरहेका थिए । पूरै फेस्टिबल मूडमा पुगेर जुवातास खेलिरहेका थिए । खसी–बोका काटिरहेका थिए । रक्सी पिइरहेका थिए ।
अनि ढोंग हेर्नुस् –पूजा कोठामा माता लक्ष्मीको फोटो टाँसिरहेका थिए ।
जबकि पछिल्ला तथ्याङ्कहरू भने ज्यादै भयावह थिए । नेपाल विद्युतीय व्यवसायी महासङ्घका (एफ.ई.ई.एन.)अनुसार अघिल्लो वर्ष चीनबाट मात्रै ८ सय मिलियन (८० करोड) रूपैयाँको सजावटी बिजुलीको झल्लरहरू आयातित भएको थियो जसमा बिना भन्सार भित्रिएकाको कुनै हिसाब छैन । फूल व्यवसायीहरूका अनुसार करोडौंको त सयपत्रीका मालाहरू भारतबाट आयातित भएका थिए । लक्ष्मीको फोटो मात्रै करोडौं रूपैया बराबरको आयात भएको अनुमान गरिएको थियो ।
तर आसन्न तिहारको बेला समयको सम्पूर्ण सदुपयोग गर्दै मेरा प्रियजनहरू भने ६ सय १० कि.मि. मोटर यात्रा र ७७ कि.मि.पैदल यात्रा गरी लाङ्टाङ पुगेका थिए । तिनले २०७२ को भुकम्पले क्षतविक्षत पारे पनि आफ्नै सङ्घर्षमा बिस्तारै बौरिदैं गरेका गाउँबस्ती छिचोलेका थिए । हिमाली जनजीवनसँग साक्षात्कार गरेका थिए । त्यहीको खान्की खाँदै र त्यहींको जाडोलाई अनुभूति गर्दै देश बुझ्ने कोशिस गरेका थिए ।
तिनले पोष्ट गरेका अचल र चल दृश्यहरूमा हिमाली गाउँ देखिन्छ । गुम्बाहरू देखिन्छन् । ढङ्गै ढुङ्गाले बनेका चौतारी र देउरालीहरू देखिन्छन् । ती गुम्बा, चौतारी र देउरालीहरूमा हिमाली हावाको वेगमा निरन्तर फर्फराइरहेका रङ्गीविरङ्गी लोभलाग्दा लुङ्दरहरू देखिन्छन् । घामको किरणमा टल्किरहेका हिमाली चुचुरोहरू देखिन्छन् । हिमालको फेंदबाट बगिरहेका हिमनदीहरू देखिन्छन् । पृष्ठभूमिमा मरुभूमिको टाकुराजस्ता देखिने पहाडहरू पनि देखिन्छन् ।
मेरा प्रियजनहरूले आफ्नो यात्राका क्रममा ती सबै दृश्यहरूको तस्वीर खिचेका छन् ।
मित्रहरू हो ! तस्वीरको महत्व धेरै ठूलो छ । ती तस्वीरहरू नखिची हामीलाई सुखै कहाँ छ र ? त्यसैले म त भन्छु–खिच्नू, भएभरका तस्वीरहरू खिच्नू ।
खिच्नू र सम्हालेर राख्नू ।
किनभने हामीलाई संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरसले यहाँ आएर सम्झाइदिनु पर्दछ । सम्झाइदिनु पर्दछ कि विगत तीन दशकमा हाम्रा हिमालहरूले एक तिहाइ हिउँ गुमाइसकेका छन् । बिहान र साँझमा सुन जस्तै र दिनमा चाँदीजस्तै चम्किने हाम्रा हिमालहरू बिस्तारै काला पहाडमा परिणत हुँदै गइरहेका छन् । मेरा प्रियजनले खिचेका तस्वीरहरूमा केही वर्ष अघिका हिमालहरू काला पहाडमा परिणत भइसकेको पनि त देखिएको छ !
भन्दै थिएँ–तस्वीरको बहुतै महत्व छ । मेरो प्रियजनहरू ! आफूले खिचेका तस्वीरहरू बिलकुलै सम्हालेर राख्नू ! तिनै तस्वीरहरूद्वारा नै आउने पिढींलाई हिमाल देखाइनेछ ।
तिनै तस्वीरहरू देखाएर भावी सन्ततिहरूलाई हिमाल पढाइनेछ ।
तिनै हिमाली श्रृङ्खलाहरूको समानान्तरमा उठिरहेका चर्चहरूले गुम्बाहरूलाई पूर्णत विस्थापित गरेपछि भावी सन्ततिहरूलाई हामीले कहाँको गुम्बा देखाउनेछौं ? गुम्बा र हिमाली जीवनको संस्कृतिको सम्बन्धलाई हामीले कुन गुम्बा देखाएर बुझाउनेछौं ? लुङ्दर र हिमाली सभ्यताको अन्योन्याश्रित सम्बन्धलाई कुन लुङ्दर देखाएर बुझाउनेछौं ?
त्यो बेला गुम्बाका ती तस्वीरहरू काम लाग्नेछन् । लुङ्दरका ती तस्वीरहरू काम लाग्नेछन् ।
हिमालका तस्वीरहरू देखाएर नै भावी सन्ततिहरूलाई हिमालको चिसो र सौन्दर्य अनुभूति गर्न लगाइनेछ । हिमनदीको तस्वीर हेरेर नै तिनले आफ्नो तिर्खा मेट्ने छन् ।
तपाईं भन्न सक्नुहुन्छ–यस्तो क्रूर र अप्राकृतिक पनि कसरी सोंच्न सकेको होला ! तर खासमा हामी त्यस्तो सोंच्न बाध्य छौं । हाम्रा बाध्यताका पछाडि हाम्रा पनि प्रशस्तै गल्तीहरू छन् तर मूलभूत रूपमा औधोगिक मुलुकहरू जिम्मेवार छन् । कार्वन उत्सर्जनमा पूँजीवादी बजारका निर्माण गरेर संसारको धन सोहोर्न उद्यत मूलतः तिनै मुलुकहरू दोषी छन् जो कार्वन उत्सर्जन गरेर ‘ग्लोबल वार्मिङ’को मुख्य हिस्सेदार भएका छन् । जो धर्मका नाममा यो हिमाली राज्यमा आफ्नो अधिपत्य जमाउन शताब्दीदेखि लागिरहेका छन् ।
देश भनेको फगत क्षेत्रफल होइन । त्यसैले हिमाल भनेको क्षेत्रफल मात्रै होइन । हिमाल भनेको हिउँको समुच्चय हो । हिमालमा हिउँ नरहनु भनेको हिमाल नरहनु मात्रै होइन । देश नै नरहनु हो । विडम्बना के छ भने हामी हरदिन देश गुमाइरहेका छौं तर बोल्दैनौं । हाम्रो सरकार बोल्दैन । सरकारलाई त्यति ठूलो मुद्दामा मानौं कुनै सरोकार छैन । ‘तिम्रो हिमाल त सक्किन लाग्यो है !’ भनेर गुटेरस आएर सम्झाइदिनु पर्दछ । देश सक्किदै गएकोमा एक से एक राजनीतिक दल र नेताहरूलाई कुनै मतलब छैन । ती त बर,ै ‘मिशन ८४’ लिएर नौटङ्कीको मैदानमा उत्रिइ नै सकेका छन् ।
हरेक वर्ष हिमाल आरोहण गर्ने नाममा हजारौं विदेशीहरू हाम्रो हिमाली भेगतिर उकालो लाग्छन् । तिनका खानपिनका कुरा, तिनका आवश्यकता र कतिसम्म भने विलासिताका साधन इत्यादिबाट निस्केका फोहरले हिमाललाई ढाक्दछ । सगरमाथा क्षेत्रमा मात्रै सयौं टन फोहर जम्मा भएको समाचारहरू आइरहन्छन् । हामीलाई हिमालको सुरक्षामा कुनै चिन्ता छैन । आइरहनेछन् गुटेरसहरू र सम्झाइरहनेछन् हामीलाई बारबार तर हामीलाई चासो छैन ।
खासमा हिमाल आरोहण एउटा ढोंग हो । मानव सभ्यताले स्थापित गरेको एउटा अहङ्कार र विलाशिता हो । हिमाल विजेता बन्छु भन्नु बिलकुलै अहङ्कार हो । अलि अलि राजश्व उठ्छ भन्ने कुरा केवल पाखण्ड हो ।
अरू देशमा के गर्छन्, थाहा छैन । हाम्रोमा आरोहणको पाखण्ड बन्द गर्नु पर्दछ ।
हिमाल हाम्रो अभिभावक हो । जुगजुगदेखि त्यसले हामीलाई तिब्बती पठारको चिसोबाट बचाएको छ । ढाल बनेर त्यसैले हामीलाई शत्रुहरूबाट बचाएको छ । हिमाल हाम्रो देवता हो । देवतालाई सम्मान गरे हुन्छ । स्पर्श गरे हुन्छ । हेरे हुन्छ । त्यसलाई आफ्ना समस्त इन्द्रियहरूले अनुभूति गरे हुन्छ । तर हाम्रा हिमालहरूको शिर टेकिनलाई होइन । हिमाल बिजेता बन्छु भन्ने नाथे मान्छेको के अस्तित्व छ हिमालका अघि ? कुन चाहिँ टिक्न सकेको छ हिमालको चुचुरोमा ?
जस्तो कि लाङ्टाङपुगेका प्रियजनहरूमध्ये एक सामाजिक सञ्जालमा भन्दछन्–हिमाल झैं अग्लो र अटल हुनु पर्दछ भनी हिमाल हेर्न गएको १५ मिनेट नि टाकुरामा टिक्न सकिएन ।
मेरा प्रियजनहरू ! लाङ्टाङ स्मृतिका तस्वीरहरू सम्हालेर राख्नू । सम्हालेरै राख्नू सुदूर भविष्यसम्म । तस्वीरको ठूलो महत्व छ बाबै !
धेरै ठूलो छ तस्वीरको महत्व
यो जगत नै आखिर
तस्वीरहरूकै
संग्राहलय न हो विचित्रको
कालचक्रको बलवान फ्रेमभित्रको ।