© २०२३
काठमाडौं, २६ कार्तिक । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा आफूहरूले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेकी छन् । नेपाली टोलीले यही कात्तिक २९ गतेदेखि हङकङमा चार देश सम्मिलित महिला ट्वान्टी–२० शृंखला खेल्दै छ । त्यसका निम्ति टोलीले त्रिवि क्रिकेट मैदानमा छोटो तयारी गरेको थियो । टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दै छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई बिदाइ गयो ।
सञ्चारकर्मीसित नवनियुक्त कप्तान इन्दुले आफ्ना निम्ति समेत अवसरका रूपमा रहेको शृंखलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेकी हुन् । ११ वर्षयता नेपालको कप्तानी समाल्दै आएकी रुविना क्षेत्रीलाई हटाउँदै क्यानले यसै साता इन्दुलाई नेतृत्वको जिम्मेवारी दिएको हो । इन्दुका निम्ति यो शृंखला पहिलो परीक्षा समेत हुनेछ । यसलाई चुनौतीका रूपमा लिएको इन्दुले बताइन् । पछिल्लो समय कमजोर पक्षमा ध्यान दिएको उनले उल्लेख गरिन् । विशेष गरी फिल्डिङ र फिटनेसमा काम गरिएको उनको भनाइ छ । अन्तिम समयमा मात्र नेपालका प्रशिक्षक नियुक्त गरिएको थियो । क्यानका सचिव पारस खड्का निकट मानिएका झापाका मनोज कटुवालले महिला क्रिकेट टोली प्रशिक्षणको जिम्मेवारी पाएका हुन् ।
नवनियुक्त प्रशिक्षक कटवालले पनि ६/७ दिनको तयारीबाट चुनौती धेरै भए पनि च्याम्पियन भएर फर्कने आशा व्यक्त गरे ।शनिबार क्यानले मूलपानीस्थित मुख्यालयमा कार्यक्रम गरी टोलीको बिदाइ गरिएको हो । सचिव खड्का तथा सदस्यद्वय दिवाकर घले र सुदीप शर्माले बिदाइ गरेका थिए । सचिव खड्काले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन भएर घर फर्कन शुभकामना दिए । पुरुष टोलीले झैँ सानदार प्रदर्शन गरेर च्याम्पियन हुनुपर्ने उनको भनाइ थियो । क्यानले उपकप्तानको जिम्मेवारी विन्दु रावललाई दिएको छ ।
नेपाली टोलीमा पूर्वकप्तान रुविना क्षेत्री, सीता रानामगर, खुसी डंगोल, सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुबी पोदार परेका छन्।
शृंखला कार्तिक २९ देखि मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ । शृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा आयोजना गरिएको छ । शीर्ष दुई टोली उपाधिका निम्ति भिड्नेछन् । पुछारका दुई टोलीले तेस्रो स्थान पाउन प्रतिस्पर्धा गर्नेछन् । शृंखलाको पहिलो खेलमा नेपालले तान्जेनियाको सामना गर्नेछ । नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ गते हुनेछ । नेपालले कात्तिक ३० गते आयोजक हङकङ र मंसिर २ गते जापानको सामना गर्नेछ ।