© २०२३
रोल्पा, १८ कार्तिक । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. १ शिवाङधारामा विद्युतको पोल गाडेको १ वर्ष भएपनि अझै सम्म लाईन बिस्तार गरिएको छैन । २०७९ साल मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर विद्युत बिस्तार थालिएपनि निर्वाचन सम्पन्न पछि भने उक्त काम अलपत्र परेको छ ।
नेकपा माओवादी केन्द्रको तर्फबाट रोल्पा प्रदेश सभा ख वाट निर्वाचित दीपेन्द्रकुमार पुन मगरले आफ्नो पहलमा तत्काल विद्युत बिस्तारको काम गर्ने भने पनि हालसम्म सो गाउँमा विद्युत पुग्न सकेको छैन । २०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको साझा उम्मेद्वार बनेर प्रदेश सभा सदस्य निर्वाचित भएका पुन २०७९ सालको निर्वाचनमा भने स्वतन्त्र उम्मेदवार बनेका थिए । काँग्रेस माओवादी केन्द्र गठबन्धनले रोल्पा प्रदेश सभा ख मा नेपाली काँग्रेसका अमरसिंह पुनलाई टिकट दिएपछि पुन स्वतन्त्र उम्मेदवार बनेका थिए ।
२०७९ साल मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचन संगसंगै पोल पनि गाडिए पनि अहिले विद्युत विस्तारको काम अलपत्र परेको छ स्थानीय होमवहादुर खड्काले भने । चुनावको वेला पोल गाड्न सुरु गरिएपनि अझै १० वटा पोल अपुग छ खड्काले भने । विद्युतको तार भने करिब १ किलोमिटर मात्रै विस्तार गरिएको छ खड्काले भने । शिवाङधाराका लागि विद्युतको लाईन रोल्पा नगरपालिका ६ कोजकवाट जोड्न थालिएको छ, ती दुई गाउँको दुरी करिव ४० किलोमिटर छ खड्काले भने ।
अँध्यारोमा वस्न बाध्य स्थानीयहरू विजुली आउने आशाले पार्टी समेत परिवर्तन गरेका थिए । गाउँमा विजुली ल्याईदिने आश्वासनमा सो गाउँका करिव ४० जना नेपाली काँग्रेसका कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए खड्काले भने ।
पोल गाडेको १ वर्ष पार गर्दा समेत काम सुरुआत नभएपछि आफुहरू संवन्धित निकायको ढोका चाहार्दै हिडेपनि कसैले जिम्मेवारी बोध गरेका छैनन खड्काले भने । गाउँपालिका जाँदा विद्युत प्राधिकरणको काम हो भन्छ भने विद्युत प्राधिकरण जाँदा गाउँपालिकाको काम हो भनेर पंछिने काम भएको छ खड्काले भने ।
त्रिवेणी गाउँपालिका वडा नं. १ मा पर्ने सिवाङधारा गाउँ रोल्पा नगरपालिकाको सिमानामा पर्छ । विजुलीको पर्खाईमा सो गाउँका ६० घरधुरीले अध्यारोमा रात काट्नु परेको छ, भने मोवाईल चार्ज गर्न समेत छिमेकी गाउँ जानु पर्ने बाध्यता रहेको छ ।