© २०२३
दाङ, १६ कात्तिक ।
दोश्रो दाङ जिल्ला अन्तर स्कुल हाप्किडो च्याम्पियनसिप–२०८० घोराहीमा हुने भएको छ । दाङ जिल्ला हाप्किडो संघको आयोजनामा आगामी मंसिर ९ र १० गते घोराहीमा च्याम्पियनसिप प्रतियोगिता हुन लागेको च्याम्पियनसिप संयोजक तथा दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष महेश गुरुङले आज घोराहीमा पत्रकार सम्मेलन गराएका छन् । उनका अनुसार, यही मंसिर दोस्रो सातामा हुने प्रतियोगितामा जिल्लाभरका ६५ स्कुलका करीव ५ सय खेलाडीहरुको सहभागिता रहनेछन् ।
खेलाडीहरुलाई निरन्तर चलायमान बनाउन हाप्किडो खेलको विकासका लागि च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । च्याम्पियनसिपबाट खेलाडीको क्षमता अभिवृद्धि, हाप्किडो खेलको विकासमा योगदानका साथै दाङ जिल्ला र स्कुलको पहिचान थप बलियो हुने विश्वास लिईएको उनले बताए । च्याम्पियनसिपमा फाइटतर्फ महिला र पुरुष दुवैमा १२–१२ वटा तौल समूहमा प्रतिस्पर्धा हुने भएको छ । जस अनुसार २०–२५, २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५, ६५–७०, ७०–७५ र ७५– ८० किलो तौल समूहमा प्रतिस्पर्धा हुनुका साथै डेमोष्ट्रेशनमा पनि टिम प्रतिस्पर्धा हुने उनले बताए ।
दाङ जिल्ला हाप्किडो संघले वार्षिक रुपमा दाङ जिल्ला अन्तर स्कुल हाप्किडो च्याम्पियनसिप गर्दै आएकोमा यो पटकको च्याम्पियनसिप आयोजनाका लागि अनुमानित २९ लाख खर्च लाग्ने अनुमान गरिएको छ । जिल्लामा १२ सय बढी प्रशिक्षार्थी खेलाडी रहेको बताईएको छ । गत वर्ष पनि दाङ जिल्ला हाप्किडो संघको आयोजनामा च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको थियो ।