Butwal Today

टी–२० विश्वकप छनौटमा पुरस्कार घोषणाको प्रतिष्पर्धा, अर्नादेखि डिसहोमसम्मले गरे पुरस्कारको घोषणा

१६ कार्तिक २०८०, बिहीबार
अ+
अ-

काठमाडौँ, १६ कात्तिक ।

आइसीसी टी २० विश्वकप छनौटमा सहभागी नेपाली खेलाडीलाई प्रोत्साहित गर्न निजी क्षेत्रले पुरस्कार घोषणा गर्न थालेका छन् । सबैभन्दा पहिला अर्ना बियरले रन, विकेट, छक्का अनि चौकैपिच्छे पुरस्कारको रकम सार्वजनिक गरेको थियो ।

अर्नाले नेपाली खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रूपैयाँ दिने घोषणा गरेको थियो । बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रूपैयाँ दिइने घोषणा गरेको थियो ।

लगत्तै फिल्म ’दिमाग खराब’को टिमले म्यान अफ द म्याच’हुने नेपाली खेलाडीलाई ५० हजार, टिमलाई महत्त्वपूर्ण सहयोग गर्ने खेलाडीलाई ‘सेग्मेन्ट अफ दी डे’ अन्तर्गत १० हजार दिने घोषणासँगै फिल्मको मुनाफाबाट पाँच प्रतिशत क्रिकेट विकासका लागि क्यानलाई दिने घोषणा समेत गरेको थियो ।

यही क्रममा डिसहोम समेत मिसिएको छ । डिसहोम फाइबरनेटले बुधबार टी–२० विश्वकप एसिया क्षेत्र छनौट अन्तर्गत एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीलाई २० लाख रूपैयाँ दिने घोषणा सार्वजनिक गर्यो। कम्पनीका अनुसार एकै खेलाडीले एउटै खेलमा शतक प्रहार गर्दै ५ विकेट समेत लिएमा २० लाख रूपैयाँ पाउनेछन् ।

शतकमात्रै प्रहार गर्ने खेलाडीलाई १० लाख रूपैयाँ उपलब्ध गराउने डिसहोमको घोषणा छ । ५ विकेट लिने खेलाडीलाई ५ लाख रूपैयाँ र अर्ध शतक प्रहार गर्ने खेलाडीलाई १ लाख रूपैयाँ दिने कम्पनीले घोषणा गरेको छ ।

एउटै खेलमा ३ विकेट लिनेलाई १ लाख, ३५ रन प्रहार गर्नेलाई ५० हजार र ३ क्याच वा स्टम्प गरेमा ५० हजार रूपैयाँको दिने घोषणा कम्पनीले गरेको छ ।

नोबल मेडिकल कलेजले नेपाली टिम फाइनलमा पुगेमा १५ लाख दिने घोषणा गरेको छ। फाइनल जितेमा थप ५ लाख दिने बुधबार क्यानसँग सहमति भएको छ। रुप्से होलिडेले प्रतियोगिताको प्लेयर अफ दि सिरिज हुने खेलाडीलाई एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।

लाइफब्वायले क्याचअफ दि म्याचलाई १० हजार नगद दिने गरेको छ। फुडमान्डुले वेस्ट डेलिभरी अफ दि म्याच शीर्षकमा १० हजार दिँदै आएको छ ।