© २०२३
बुटवल,६ कात्तिक । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई हराएको छ ।
सोमबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हराएको हो ।
सिरिजको फाइनल पुगेको नेपालले लिग चरणका चारै वटा खेलमा जित निकाल्न सफल भएको छ ।
यूएईले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल अगावै ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
नेपालको जितमा आसिफ शेखले शानदार अर्धशतक प्रहार गरे ।
सुरुवाती तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको नेपालको इनिङ्सलाई आशिफले कप्तान रोहित कुमार पौडेलसँग मिलेर उकासेका थिए ।
आसिफले ६२ रन बनाए । रोहित ४७ रनको योगदान गरे ।
नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले अर्को सम्झन लायक इनिङ्स खेले । नेपाललाई जितसम्म डोर्याएका दीपेन्द्रले १५ बलमा अविजित ४० रनको योगदान गरे । जसमा ६ चौका र १ छक्का सामेल छ ।
गुल्सन झा १ रनमा नटआउट रहे ।
यसअघि, मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो ।
वृत्त्या अरविन्द र बासिल हमिदले समान ४५ रन बनाएको इनिङ्समा असिफ खानले १८ रन बनाएका थिए । खालिद साहले १२ रन बनाए । अन्यको दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका सोमपाल कामी र रविनाश बोहराले समान २ तथा करन केसी र गुल्सन झाले समान १ विकेट झारेका थिए ।
एक खेल अगावै फाइनल पुगेको नेपालले लिग चरणमा सतप्रतिशत जित सहित ८ अंक जोडेको छ । यूएईको ३ खेलबाट २ अंक र हङकङ अंक विहीन छ ।
टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना गरेको हो ।