© २०२३
बर्दघाट, १ कात्तिक ।
नेपाल, युएई र हङकङ सम्मिलित टि–२० आइ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले सहज जित हात पारेको छ । काठमाडौको मुलपानी क्रिकेट रँगशालामा युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो ।
युएईले निर्धारित २० ओभरमा दिएको १ सय ४१ रनको लक्ष्य नेपालले मात्र ३ विकेटको क्षतिमा ७ बल बाँकी छँदै भेट्टायो । नेपालका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिँह ऐरीले ९३ रनको उत्कृष्ट साझेदारी गरे । पौडेलले ४० बल खेल्दै अविजित ५१ रन बनाउँदै अर्धशतक पूरा गरे । ऐरीले २३ बल खेल्दै ३४ रन बनाएर नटआउट रहे । ओपनर कुशल भुर्तेल १४, आसिफ शेख २३ र कुशल मल्लले ११ रन जोडन सके । टस हारी पहिले ब्याटिङ्ग गरेको युएइले निर्धारित २० ओभरमा १ सय ४० रन जोडेको थियो । पाहुना टोलीको लागि मध्यक्रममा ब्याटिङ्ग गर्न आएका वसिल हमिदले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । यस्तै अलि नसिरले ३२ रनको योगदान गरे ।
अन्यको प्रदर्शन भने फितलो रह्यो । युएइलाई सस्तैमा समेटने क्रममा नेपालका करन के.शी. ले ३, गुलशन झा ले २ र सोमपाल कामी र अभिनाश बोहोराले समान १–१ विकेट लिएका थिए । जितसँगै २ अँकका साथ नेपाल लिगको शिर्षस्थानमा रहेको छ । नेपालले भोली (विहीबार) हङकङको सामना गर्ने छ ।