© २०२३
बुटवल, २० असोज । आदर्श युवा क्लबको आयोजनामा बुटवलमा स्व गंगा मल्ल स्मृति खुला नकआउट सेभेन ए साईड फुटबल प्रतियोगिता २०८० शुरु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १५ दुर्गा माता भवानी मन्दिर संस्थाको संरक्षकत्व तथा आर्दश युवा क्लबको आयोजनामा शनिबारदेखि वडा नं १५ स्थित उजलापुरको खेलमैदानमा शनिबार भएको उद्घाटन खेलमा ह्वाइट लोटस विजयी शुरुवात गरेको छ । ह्वाईट लोटसले आयोजक आदर्श युवा क्लब (ए) लाई पेनाल्टी शुटमा ३–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारत ४० मिनेटको खेलमा गोल रहित बराबरी भएपछि पेनाल्टी शुटआउटमा निर्णय लिईएको थियो । खेलमा ह्वाईट लोटसका गोलकिपर राजेश पुन म्यान अफ द म्याचबाट पुरस्कृत भए । यसैगरि दोस्रो खेलमा बिएमटी, बुद्घनगरका खेलाडी उपस्थित नभएपछि घण्टादेवी एफसी, दाङ टिम वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगिताको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रबक्ता तथा वडा नं १५ का वडाअध्यक्ष शिव रानाले उद्घाटन गर्दै फुटबल खेल र खेलाडीको विकासमा खेल प्रतियोगिता महत्वपूर्ण पाटो भएको बताए । सेमलार गाउपालिका ताका फुटबल प्रतियोगिता हुने गरेको स्मरण गर्दै धेरै लामोसमयपछि यो पुनः शुरुवात भएको बताए । प्रतियोगिता केवल खेलमात्र नभई भाईचारा र सम्बन्ध जोड्ने अभियान भएको उनले बताए ।
कार्यक्रममा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले फुटबल क्लबहरुबाट आयोजना हुने खेल गतिविधि खेलाडी छनौट र खेल विकासको आधार भएको भन्दै संघको नियमित कार्ययोजना अनुसार रुपन्देही जिल्ला लिग र प्रतियोगितामा जोड दिने बताए ।
प्रतियोगिताको मुख्य पुरस्कार प्रायोजक प्रबिन मल्लले फुटबल खेलमा लागेका आफन्तको स्मृतिमा प्रतियोगिता आयोजनामा सहयोग गर्न पाउँदा खुशी ब्यक्त गर्दै खेल विकासमा थोरै भएपनि सहयोग मिल्नेमा आशावादी रहेको बताए ।
कार्यक्रममा दुर्गा भवानी मन्दिर ब्यवस्थापनको अध्यक्ष तथा क्लबका पुर्व अध्यक्ष संतोषमान सिमागैडाले खेल पुर्वाधारमा जोड दिन सके धेरै युवा खेलाडीहरु खेलमा जोडिने र अवसर पाउने बताए ।
प्रतियोगिताको मुख्य प्रायोजन स्व गंगा कुमारी मल्लको स्मृतिमा नाति डिजन मल्ल एवं प्रविण मल्ल तथा सहप्रायोजन स्व दिलिप पुन (नारायण) स्मृतिमा विष्णु थापाले गरेका छन । प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष मनिष काफ्लेले बताए । यसैगरि उपविजेता टिमले नगद २३ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा तृतिय टिमले नगद १० हजार रुपैया, कप, मेडल,प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । असोज ३० गतेसम्म संचालन हुने प्रतियोगितामा रुपन्देहीसहित दाङ, पाल्पा जिल्लाका गरि २४ टिमले प्रतिस्पर्धा गरेका छन ।
आईतबार वटा खेलहरु हुने क्लबका सचिव साजन खातीले बताए । पहिलो खेल ईभ्युलोसन क्लब, तामनगर र ईन्टर स्पोर्ट्स क्लब, लक्ष्मीनगर, दोस्रो खेल कोबरा गाईज, बुटवल र आदर्श एफसी (बि) तथा तेस्रो खेलमा मैइनहिया एफसी र आदर्श युवा क्लब (सि) का बिचमा खेल हुने छ ।