Butwal Today

एशियाली खेलमा नेपाली क्रिकेट : विश्व विजेतासँग पहिलोपटक भिड्दै

१५ आश्विन २०८०, सोमबार
अ+
अ-

बर्दघाट, १५ असोज ।

चीनमा जारी एशियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वार्टर फाइनलमा मंगलबार नेपालले तुलनात्मक रुपमा बलियो प्रतिद्वन्दी भारतको सामना गर्दै छ । समूह चरणमा धेरै विश्व रेकर्ड कायम गर्र्दै क्वार्टर फाइनल प्रवेश गरेको नेपाल बलियो आत्मबलका साथ खेलिरहेको छ । तथापि विगतका खेलहरुलाई विश्लेषण गर्दा र भारतीय टोलीको खेलाडीको प्रदर्शनलाई हेर्दा नेपालको लागि क्वार्टर फाइनल खेलमा जित हात पार्न निकै संघर्ष गर्नुपर्ने छ ।

नेपालले राट्रिय टिमको पहिलो रोजाइको खेलाडीहरुलाई मैदानमा उतारिरहँदा भारतले भने दोश्रो रोजाइका खेलाडीहरुलाई एशियन खेलकुदमा पठाएको छ । तथापि भारतका दोश्रो रोजाइका खेलाडीहरु पनि निकै अनुभवी छन । विशेषगरी टि ट्वान्टी फम्र्याटमा उच्च प्रदर्शन गरेका खेलाडीहरुले भरिएको टोली हो भारत ।

विश्वकै चर्चित फ्रेन्चाइज लिग आइपिएलमा सहभागी र आइपिएलमा उच्च प्रदर्शन गरेका खेलाडीहरुको सामना गर्नु नेपालको लागि चुनौती हो । एशियाली खेलकुदमा रेकर्ड ब्रेक गर्दै उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र सिँह ऐरी, कुशल मल्ल, राम्रो फर्ममा रहेका कप्तान रोहित पौडेल, कुशल भुर्तेल, सन्दिप लामिछाने, करण केसी, सोमपाल कामी लगायतका अनुभवी खेलाडी नेपाली टोलीमा रहेका छन् ।

भारतीय टोलीमा ऋतुराज गायकवडको कप्तानीमा युवा खेलाडीहरु सम्मिलित टोली रहेको छ । भारतीय पहिलो रोजाइको टोलीमा यसअघि सम्मिलित तीव्र गतिका बलर अर्सदिप सिँह समेत रहेका छन् । उनी गत आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । भारतीय अलराउण्डर रिँकु सिंह, यशस्वी जैसवाल, वासिङ्गटन सुन्दर, शिवम दुवे जस्ता टि ट्वान्टीमा निकै अनुभवी खेलाडीहरु भारतीय टोलीमा रहेका छन् । यी मध्ये अधिकाँश खेलाडीले राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय टेष्ट, एक दिवसीय र टि ट्वान्टी खेल खेलिसकेका छन् । नेपाल र भारतविच अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय टि ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता भएको छैन । तर गत महिना एशिया कपमा भने भारत र नेपालविच अन्तर्राष्ट्रिय प्रतियोगिता भएको थियो, जुन एकदिवसीय फम्र्याटमा रहेको थियो ।

एकदिवसीय खेलमा भारत विरुद्ध नेपालले सम्मानजनक प्रदर्शन गरेको थियो । एशिया कपमा नेपालले भारतलाई २ सय ३१ रनको लक्ष्य प्रस्तुत गर्दा भारतले डकवर्थ लुइसको नियम अनुसार १० विकेटको जित हात पारेको थियो । टि ट्वान्टी क्रिकेट इतिहासमा नेपालले अहिलेसम्म कुल ५८ अन्तर्राष्ट्रिय टि ट्वान्टी प्रतियोगिता खेलेको छ । जसमा ३४ खेलमा जित, २३ खेलमा हार र एउटा खेल नतिजा विहीन भएको छ । यस्तै भारतले अहिलेसम्म २ सय ६ वटा प्रतियोगितामा १ सय ३४ मा जित ६६ खेलमा हार, एउटा खेल बराबरी र ५ वटा नतिजा विहीन खेल खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?