© २०२३
धनगढी, १३ असोज ।
सुदूरपश्चिम फिट्नेश एन्ड फारवेष्ट सपोर्ट क्लबको आयोजनामा धनगढीमा भएको प्रथम सुदूरपश्चिम श्री शारीरिक सुगठनको उपाधि लक्ष्मीदत्त पन्त र सुनिल चन्दले प्राप्त गरेका छन् ।
शुक्रवारदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत शनिवार शारीरिक सुगठन विधामा चन्द र मेन्स फिजिकलतर्फ पन्तले उपाधि पाएका हुन् ।
यस्तै शारीरिक सुगठन विधामा दित्तिय पुरस्कार आर्यान शाही, तृतीय अर्जुन साउद र सहानुभूति तर्फ अनिल सेरलाले प्राप्त गरेका छन । यस्तै मेन्स फिजिकलतर्फ दितिय पुरस्कारतर्फ अजय रिजाल, तृतीय अमृत रावत र सहानुभूतितर्फ सन्देश शाहले प्राप्त गरेका छन् ।
प्रतियोगिताका दुवै विधाका विजेतालाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिएको छ । दुवै विधामा दोस्रो हुनेलाई नगद १५ हजार र तेस्रो हुनेलाई नगद १० हजार नगद पुरस्कार दिइएको छ ।साथमा जिन्सी पुरस्कार हरू पनि प्रदान गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले विजेता खेलाडीलाई ट्रफी, नगद पुरस्कार तथा सामाग्री हष्तान्तरण गरे ।
मन्त्री साउदले खेलकुदको विकासका लागि प्रदेश सरकारले बजेटमा कमी हुन नदिने प्रतिबद्धता जनाए । ‘खेलकुदमा सीमित स्रोत साधन रहेको समयमा प्रदेश सरकारले अहिले खेलकुदमा बजेट विनियोजन गरेको छ । त्यो पर्याप्तता भने हैन । सुदूरपश्चिमको अर्को समस्या बेरोजगारी हो । यो हामी सबैको साझा समस्या बनेको छ,’मन्त्री साउदले भने,‘ खेलकुद प्रतियोगिताले युवाहरूलाई कुलतमा फस्नबाट रोक्ने भएकाले खेलकुद प्रतियोगिता गर्न जरुरी छन् ।युवाहरू जागरूक नबने सम्म प्रदेश बन्दैन । यवहरूले आफै स्वरोजगारको सृजना गर्नुपर्छ ।’
क्लबका अध्यक्ष मोहन तामाङले युवाहरूमा एकता, धैर्यता, ऊर्जावान् जरुरी रहेको बताए ।