© २०२३
धनगढी,८ असोज । कैलालीको धनगढीमा केही बेरको वर्षाले सेती प्रादेशिक अस्पताल र बजार क्षेत्र जलमग्न भएका छन् । वर्षाका कारण अस्पतालका उपचार कक्षहरूमा पानी भरिदा बिरामीलाई समस्या भइरहेको छ भने बजार क्षेत्रका सडक र केही पसलभित्र पनि पानी पसेपछि सर्वसाधारण र व्यापारी पनि प्रभावित वनेका छन् । ‘अस्पतालको भुईँ तलाका सबै वार्डमा पानी परेको छ । हामीलाई बिरामी कुर्न, औषधी–खाना लगायतका चिज ल्याउन ओहोर–दोहोर गर्न निकै समस्या भयो’–पत्थरीको उपचारका लागी डडेल्धुराबाट आएकी हिरा भण्डारीले भनिन् ।
अस्पतालका प्रसूति वार्ड, अप्रेसन वार्ड लगायतमा पानी भरिएको छ । वर्षाका कारण उपचार सेवा प्रवाह गर्न समस्या भइरहेको अस्पताल बिकास समिति अध्यक्ष नर बहादुर शाह निर्मलले बताए । ‘पानीका कारण हामी सबै समस्या खेपीरहेकाछौँ । तत्कालका लागी हामी पानी निकाल्दै छौँ यसपछि हामी यसको दीर्घकालीन समस्या समाधानका लागी काम गर्छौँ,’शाहले भने ।
धनगढीको मुख्य बजार क्षेत्र एलएनचोक,बसपार्क,रातोपुल तारानगर लगायतका क्षेत्र पनि डुबानमा छन् । बजार तथा सडक क्षेत्रमा भरिएको पानी निकासको काम भइरहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।