© २०२३
काठमाडौँ, ५ असोज ।
नेपाल क्रिकेट संघ (क्यान) को नयाँ अध्यक्षमा चतुरबहादुर चन्द र विनय राजभण्डारीबीच प्रतिस्पर्धा हुने देखिएको छ।
शुक्रबार नै निर्वाचन गर्ने तयारी भइरहेका बेला राजभण्डारीले उम्मेदवारी घोषणा गरेका हुन्। क्यानको शुक्रबार र शनिबार हुन लागेको चुनावी साधारण सभामा वर्तमान अध्यक्ष चन्दसँग राजभण्डारी प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका हुन्।
‘वर्तमान अध्यक्ष चन्दविरुद्धका साथीहरुले मलाई उठ्न भनेपछि चुनाव लड्न लागेको हुँ’, उनले भनेका छन्, ‘चन्दले क्यानमा राणा शासकको शैलीमा काम गरेकाले साथीहरु असन्तुष्ट हुनुहुन्छ। उहाँहरुको आग्रहमा चुनाव लड्न लागेको हुँ।’
क्यानको नयाँ नेतृत्व छान्नका लागि निर्वाचन शुक्रबार अपरान्हसम्म हुन सक्नेछ।
अध्यक्षमा अहिलेसम्म चन्द र भण्डारीले मात्रै चुनाव लड्ने घोषणा गरेकाले द्विपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।