© २०२३
काठमाण्डौ, ४ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहिबार बस्दैछ । सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनपछि पहिलो पटक विधानको व्यवस्था बमोजिम केन्द्रीय कार्यसमितिको नियमित बैठक बोलाएका हुन् । विधानले दुई महिनाको अवधिमा कम्तिमा एक पटक केन्द्रीय कार्यसमितिको बैठक बस्ने उल्लेख छ ।
यसअघि १० महिनासम्म केन्द्रीय समिति बैठक नराखेर आलोचित भएका सभापति देउवालाई साउन पहिलो साता बसेको बैठकमा नियमित बैठक बस्न नसकेको विषयमा पार्टीका पदाधिकारीसहित सदस्यहरुले दबाब दिएपछि नियमित बैठक सञ्चालनका लागि तयार भएका थिए ।
सभापति देउवाले त्यसबेला बैठकको समापन गर्दा नै असोज २ गते अर्को बैठक बस्ने घोषणा गरेका थिए । तर पूर्वसभामुख सुवास नेम्वाङको निधनका कारण यसपटक पूर्वनिर्धारित बैठकलाई दुई दिन पर धकेलेर बिहीबारदेखि बस्ने गरी बैठक बोलाएका हुन् । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक विषयहरुसहित पार्टीको महासमिति भेलाका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा नेता शेखर कोइराला पक्षले सभापति देउवामाथि दबाब बनाउने रणनीति बनाएको छ । बुधबार नेता कोइरालाले सभापति देउवालाई भेटेर पार्टीलाई विधिबमोजिम संचालन गर्न दबाब दिएका थिए । त्यसक्रममा देउवा र कोइरालाबीच चर्काचर्की नै परेको थियो ।