© २०२३
बुटवल,२६ भदौ । बुटवल नगरमा एकीकृत योजनासहित खेलग्रामको अवधारणा अघि बढाउन पत्रकारहरुले सुझाव दिएका छन। बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा पत्रकारसंग गरिएको अन्तरक्रियामा नगरभित्र पुर्वाधार विकास, खेलकुद गतिविधिसंगै खेल प्राविधिक जनशक्ति उत्पादन र तालिमहरु संचालन गर्न जरुरी रहेको उनीहरुले सुझाव दिए।
नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले नगरभित्र रहेका सबै खेलकुद आवद्ध संघसंस्था र क्लबहरुलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए।
खेलाडी उत्पादनका लागि विद्यालयस्तरबाटै लगानी गर्ने उद्देश्य राखेर विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक पियाले जानकारी दिए ।
मंगलबार खेल पत्रकारहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा संयोजक पियाले नगरलाई खेलाडी उत्पादन, खेल प्रतियोगिता र भौतिक संरचना तयार गर्नका लागि चासो दिएको बताए ।
उनका अनुसार नगरस्तरीय विद्यालयहरुका बीचमा मेयरकप फुटबल प्रतियोगिताका लागि २० लाख रुपैयाँ छुट्याइएको छ । यसक्षेत्रकै उत्कृष्ट राशीको विद्यालयस्तरीय प्रतियोगिता हुने र यसले खेलाडी उत्पादनमा समेत सहयोग गर्ने उनले बताए ।
’खेलक्षेत्रमा ठूला प्रतियोगिता गर्नेमा मात्रै ध्यान दिएर हुँदैन, अब यसलाई फरक दृष्टिले हेर्नुपर्छ र नगरमै खेलाडी उत्पादन गर्नेतर्फ जोड दिने र संरचना निर्माणतर्फ बढी चासो दिनेछौं’–उनले भने ।
हाल ४४ वटा खेलकुद क्लबहरु आवद्ध रहेका छन। यही असोज १० गतेसम्म खेल संस्थाहरुलाई सुचिकृत हुन आग्रह गरिएको उनले बताए। खेलाडी उत्पादनमा उवर्भरभुमि बुटवल नगरमा रहेका पुर्वाधारलाई संरक्षण, मर्मत गर्ने, नियमित वार्षिक योजनासंगै खेल जनशक्ति उत्पादनमा जोड दिने उनले बताए। ग्रासरुट खेल विकासको आधार विद्यालय भएकाले यसमा जोड दिने गरि बजेट बिनियोजन गरिएको उनले बताए। नगर खेलकुदको कुल बजेट २ करोड १७ लाख रुपैयालाई ब्यवस्थित तवरले बिनियोजना गरेर अघि बढ्ने उनले बताए। पुर्वाधार विकास, खेलकुद प्रतियोगिता, जनशक्ति उत्पादनमा समेत जोड दिने उनले बताए।
कार्यक्रममा माध्यामिक शिक्षा शाखाका प्रमुख टिकाराम पन्थी, खेलकुद विकास समितिका सदस्य सचिव कोपिला ज्ञवालीले नगरमा छरिएर रहेका खेल संस्थालाई समेटेर सल्लाह सुझाव सहित अघि बढ्न जरुरी रहेको बताए।