© २०२३
नवलपुर, २३ भदौ ।
पुर्वी नवलपरासीको हुप्सेकोटमा हरेक वर्ष आयोजना हुँदै आईरहेको युनाईटेड गोल्ड कपको शनिबारको खेलमा देवचुली नगरपालिका विजयी भएको छ ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारा सहित युनाईटेड युवा क्लब गिरुवारीको आयोजनामा शुरु भएको युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३७ औं संस्करण हुप्सेकोट ३ स्थित सरस्वती मा.वि. को खेल मैदानमा संचालन भैरहेको छ ।
शनिबार भएको प्रतियोगिताको दोश्रो खेलमा देवचुली नगरपालिकाले द टाईगर युुवा क्लबलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै विजयी भएको आयोजकले जनाएका छन् । प्रतियोगितामा देशभरका चर्चित फुटबल क्लब र खेलाडीहरु सहभागी भएका खेल संयोजक प्रेमध्वज सारुले बताए ।
प्रतियोगिताको विजेताले दुई लाख २५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् भने दोश्रो हुने टिमले एक लाख ३५ हजार पाँच सय ५५ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेल संयोजक सारुका अनुसार सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २५ हजार पाँच सय ५५ रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत पुरस्कृत गरिने आयोजकले बताएको छ ।
यस अगाडिका खेलहरुमा एउटै टिममा धेरै विदेशी खेलाडीहरुलाई समावेश गराउने गरिएकोमा यस वर्ष भने एउटा टिमले बढीमा तीन जना मात्रै विदेशी खेलाडीलाई टिममा समावेश गराउन पाउने गरी नियम गराईएको क्लबका अध्यक्ष हरि थापाले बताए ।
निरन्तर ३७ औं संस्करण सम्म आयोजित यस प्रतियोगितालाई जिल्लाकै गौरवको रुपमा लिईन्छ । आइतबारको खेल केटीएम मध्यविन्दु र नवप्रगति युवा क्लब बीच हुने आयोजकले जानकारी दिएको छ ।