Butwal Today

आईसीसी महिला टी–२० क्रिकेटमा नेपाल थाइल्याण्डसंग पराजित, विश्वकप खेल्ने सपना समाप्त

२२ भाद्र २०८०, शुक्रबार
अ+
अ-

बुटवल,२२ भदौ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल थाइल्यान्डसॅंग पराजित भएको छ । आज बिहान भएको खेलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको हो ।

थाइल्यान्डले दिएको १०६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १९।३ ओभरमा ५९ रन बनाउँदै अलआउट भयो । नेपालका लागि कविता कुँवरले सर्वाधिक १७ रन बनाइन् । त्यस्तै कविता जोशी र अप्सरी बेगमले समान १०–१० रन बनाइन् । यसबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लक्ष्य पछ्याउने क्रममा नेपालले खराब शुरूआत गरेको थियो ।

पराजित भएसँगै पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने नेपालको सपना अधुरै रहेको छ । यससँगै ग्लोबल टी २० छनोट हुँदै विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको छ ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्डले नेपाललाई १०६ रनको लक्ष्य दिएको थियो । थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १०५ रन जोडेको थियो ।

थाइल्यान्डका लागि नानपाट कोन्चारोएनकाइले अविजित ५९ रनको योगदान गरिन् । यसैगरी नथाकन चन्थमले ३१ र चनिँदा सुतिरुआङले ११ रन बनाए ।

नेपालका लागि कविता कुँवर र पूजा महतोले समान एक विकेट लिए ।