© २०२३
बाँके, २१ भदौ ।
कर्णाली प्रदेशको ‘लाइफलाइन’ सडकका रुपमा रहेको रत्न राजमार्ग वर्षेनी टालटुलमै सीमित हुने गरेको छ । भारत–चीन (जमुनाह–हिल्सा) जोड्ने अन्तरदेशिय सडकका रुपमा समेत चर्चा पाएको यो सडक बिस्तारको ठोस योजना बनाउने भन्दा पनि टालटुल गरेरै समय र पैसा सिध्याउने ध्याउन्नमा सरकार लागिपरेको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि उक्त राजमार्ग स्तरोन्नतीका लागि फरक फरक कार्यक्रमबाट रु एक अर्व बजेट बिनियोजन गरेको छ । यसरी बिनियोजन भएको बजेट सडक टालटुल र स्तरोन्नतीमै सकिने गरेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ रत्न राजमार्गलाई अब टालटुलमै सीमित गर्न नहुने बताउँछन् । रत्न राजमार्ग कर्णालीको लाइफलाइन र कर्णाली करिडोरको ढोका भएकाले बहृत स्तरोन्नतीको योजना ल्याउनुपर्ने बताउँछन् । उनी भन्छन्,–‘कर्णाली मात्रै होइन यो त बाँकेको आर्थिक, सामाजिक जीवनको महत्वपूर्ण पाटो हो । यसलाई टालटुले काममै सक्ने नगरौं ।’
कर्णाली प्रदेशलाई दक्षिणको भारत र उत्तरको चीनलाई जोड्ने मुख्य सडक हो कर्णाली करिडोर जसको ढोका रत्न राजमार्ग हो । कर्णाली प्रदेशको विकास र समृद्धिको मुख्य आधार मानिएको कर्णाली करिडोरको काम अहिले तीव्र गतिमा भइरहेको छ । त्यो बिस्तारको बृहत योजना छैन ।
५१ प्रतिशत भन्दा बढी गरिबीको रेखामुनि रहेको कर्णाली प्रदेश करिडोर सञ्चालपछि कर्णालीवासीको मुहारमा उज्यालो छाउने अपेक्षा गरिएको छ ।
कर्णाली करिडोरलाई ‘जमुनाह–सिमकोट–हिल्सा प्रधानमन्त्री द्रुत मार्ग’ समेत नामाकरण गरिएको छ । बाँकेको जमुनाहदेखि हुम्लाको हिल्सासम्मको यो सडकको कूल लम्बाई ५ सय ३० किलोमिटर हुनेछ । यो सडक खण्डबारे चिनियाँ कम्पनीले सर्भे गरेर प्रारम्भिक प्रतिवेदन समेत सरकारलाई बुझाइसकेको छ । तर कहिलेदेखि कार्यान्वयनमा आउँछ निश्चित छैन ।
रत्न राजमार्ग र कर्णाली करिडोरको बिस्तार हुन सके कर्णालीको आर्थिक समृद्धि हुने आशा गरिएको छ । त्यसको प्रत्यक्ष लाभ नेपालगन्जले लिने बताउँछन् पर्यटन व्यवसायी सीताराम यादव । पर्यटन क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न सके यहाँको धार्मिक, ऐतिहासिक तीर्थस्थलले पर्यटकको मन जित्ने तर त्यसका लागि स्थलमार्गको स्तरोन्नती अतिआवश्यक रहेको यादवको भनाई छ । करिडोर निर्माण पूरा भए चीनसँगको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सिमाना जोडिएको बाँकेको जमुनाहसम्म उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो दुरीको सडक हुनेछ ।
करिडोर पूर्णरुपमा निर्माणपछि सञ्चालनमा आए वर्षेनी भारतबाट मानसरोवर आउने हजारौँ पर्यटकका लागि निकै सहज र छोटो दुरीको मार्ग हुनेछ । जसले गर्दा मानसरोवर आउने पर्यटकको संख्यामा समेत वृद्धि हुने निश्चित देखिन्छ । अहिले पनि मानसरोवर तीर्थयात्रा गर्ने भारतीय पर्यटक नेपालगञ्ज र सुर्खेत हुँदै हुम्ला पुग्ने गर्छन् ।