© २०२३
बुटवल,२० भदौ । एसिया कप क्रिकेटमा बुधबारबाट शीर्ष चारका खेलहरू सुरु हुँदैछन्। शीर्ष चारको पहिलो खेलमा बुधबार पाकिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। पाकिस्तानको लाहोरमा हुने खेल नेपाली समयअनुसार आज अपरान्ह दिउँसो ३.१५ मा सुरु हुने छ।
मंगलबार समूह चरणको अन्तिम खेलमा श्रीलंकाले अफगानिस्तानलाई हराएसँगै शीर्ष चारमा पुग्ने सबै चार टिमको तय भएको हो।
समूह ए बाट पाकिस्तान र भारत तथा समूह बीबाट बंगलादेश र श्रीलंकाले अघिल्लो चरणमा स्थान बनाएका थिए।
अब राउन्ड रोविनका आधारमा सबै टिमले एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्ने छन्। जहाँ तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच उपाधिका लागि भिडन्त हुने छ।
पछिल्लो पाँच खेलमा पाकिस्तान अपराजित रहेको छ भने बंगलादेशले पाँचमध्ये २ खेलमा मात्र जित निकालेको छ। तर पाकिस्तानसँग पछिल्ला पाँच खेलको तुलना गर्दा बंगलादेश हावी रहेको छ।
तर पछिल्लो पटक अर्थात् २०१९ को जुलाइमा भएको खेलमा भने पाकिस्तान ९४ रनले विजयी भएको थियो। त्यसअघि भिड्दा बंगलादेश सबै चार खेलमा विजयी रहेको थियो।
तर पछिल्लो समय फेरिएको पाकिस्तानलाई हराउन बंगलादेशलाई सहज भने हुने छैन। विश्व नम्बर एक पाकिस्तानका विश्वका शीर्ष ५ ब्याटरमा तीन जना पाकिस्तानकै रहेका छन्। बलिङ र ब्याटिङमा दबाबपूर्ण इनिङ खेल्न सक्ने पाकिस्तान र बंगलादेशबीचको खेल रोमाञ्चक हुने आँकलन गरिएको छ।
समूहचरणमा पाकिस्तानले नेपाललाई पराजित गर्दा भारतसँग वर्षाका कारण अंक बाँड्दै शीर्ष चारमा पुगेको थियो। बंगलादेशले भने श्रीलंकासँग हार व्यहोर्दा अफगानिस्तानलाई फराकिलो अन्तरले हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको थियो।