© २०२३
बुटवल,१९ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन् ।
एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेकका बालेनले फेसबुकमा स्टाटस लेख्दै नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा १०० रोपनी जग्गा उपलब्ध गराएको खण्डमा काठमाण्डौ महानगरबाट रंगशाला बनाउन पहल गर्ने बताएका छन् ।
नेपाल र भारतको खेल भएको पाल्लेकेले रंगशाला प्यारापिट र केही सुविधा भएको भन्दै उनले यस्तै सुविधाको रंगशाला जग्गा बाहेक ८०–९० करोडमा बनाउन सकिने बताएका छन् ।
बालेनले खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एउटा एउटा बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरि सकेको स्मरण गराएका छन् ।
स्टेडियममा नेपाली समर्थकको संख्या १५०० देखि २००० को बिचमा र भारतीय समर्थकको संख्या ४०–५० जना जति पाएको उनले बताएका छन् ।
नेपालसँगको खेल भारतले सजिलै जित्ने सोचेको र खेल अघि बढेसँगै भारतीय खेलाडी पूरै रक्षात्मक बनेको अनुभव गरेको बालेनले बताएका छन् ।