Butwal Today

आईसीसी महिला टी–२० क्रिकेट : कतारले नेपाललाई दियो ७५ रनको लक्ष्य

१८ भाद्र २०८०, सोमबार
अ+
अ-

बुटवल,१८ भदौ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा कतारले नेपाललाई ७५ रनको विजयी लक्ष्य दिएको छ।

मलेसियाको बांगीमा टस हारेर ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनायो। कतारका लागि साक्षी दधवालले सर्वाधिक २१ रन बनाइन्। ४४ बल खेलेकी उनी इन्दू बर्माको बलमा एलबिडब्लू भइन्। त्यस्तै एलिना खानले १५ रन बनाएर रन आउट भइन्। कप्तान आइसाले १० रन बनाइन भने एन्जलेनी मरेले १४ रन बनाइन्।

कतारलाई सस्तैमा समेट्न नेपालकी इन्दू बर्माले ३ विकेट लिइन भने पुजा महतो र कविता जोशीले एक एक विकेट लिए।

आजको खेल जिते नेपालले सेमिफाइनलमा स्थान बनाउने छ। लगातार तेस्रो जित निकालेको नेपालले ६ अंक रहेको छ भने कतार तिनै खेलमा पराजित भएको छ। उसले अहिलेसम्म अंक जोड्न सकेको छैन्।

आइतबार भएको भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको थियो। नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो। नेपालले अर्को खेलमा बुधबार यूएईसँग खेल्ने छ। युएई अंक तालिकाको शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ।

११ टोली सम्मिलित प्रतियोगितामा नेपालको समूहमा ६ टोली रहेका छन्। समूह ए को शीर्ष दुई टोली मात्र सेमिफाइनलमा पुग्नेछन्। नेपाल सेमिफाइनलमा पुगेको खण्डमा समूह बी का हङकङ, थाइल्याण्ड र कुवेतमध्ये एकसँग खेल्ने संभावना छ।

समूह बी मा ३ खेलबाट ६ अंक बटुलेको हङकङ शीर्षस्थानमा छ। थाइल्यान्डको २ खेलबाट ४ अंक जोडेको छ। कुवेतले पनि एक खेल जित्दै २ अंक पाएको छ।