© २०२३
बुटवल, ३१ साउन। लुम्बिनी प्रदेश बास्केटबल संघको प्रथम अधिवेशनबाट मनिष कुमार ह्योजुको अध्यक्षतामा नया नेतृत्व चयन भएको छ । बुधबार रुपन्देहीमा भएको अधिवेसनबाट ११ सदस्यीय समिति गठन भएको हो । जसको उपाध्यक्ष वसन्त गिरी, उपाध्यक्ष वसन्त थापा, महासचिव बिपिन केसी, सचिव रोहिन्द्र भण्डारी, कोषाध्यक्ष अब्दुल सलामत तथा सदस्यहरुमा सुसिला कार्की, वसन्त कुमार राना, विकास पालिखे, सुशान्त थैव, मन्दिप गिरि सर्वसम्मत चयन भएका छन ।
कार्यक्रमको एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै खेलकुदको मर्म मिलाउन प्रदेश सरकार र केन्द्रको ऐन, नियमावलीमा केही त्रुटीहरु रहेको भन्दै यसलाई सच्चाउदै जान जरुरी रहेको बताए । प्रदेशको आफ्नै ऐन र नियमावली तयार भएको भन्दै खेल संघहरु सुचिकृत गर्ने काम अघि बढाएको बताए ।
कार्यक्रममा नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिह गुरुङले विभिन्न कारणबाट लामोसमय सम्पुर्ण नेपाली खेलकुद सुस्ताएको भन्दै लयमा फर्किने क्रममा रहेको बताए । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा भाग लिईरहेको उनले बताए । देश संघिय संरचनामा गएसंग खेलसंस्थाहरुलाई समेत ढाल्ने र खेल विकासमा लाग्ने लक्ष्य सहित अघि बढेको उनले बताए । बास्केटबलको विकासमा देशलाई गरिएको योगदानको उचित मुल्यांकन हुने बताए । बास्केटबल खेलको विकासमा स्वर्गीय लामा टेण्डी शेर्पाको योगदान स्मरण गरे ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मनोज कुमार ह्याजुले पुर्वाधार विकास र प्रतियोगिता निरन्तरतालाई जोड दिने प्रतिवद्घता जनाए । प्रदेश अन्तरगतको उच्चस्तरको बास्केटबल कोर्ट निर्माण अघि बढाएको उनले बताए ।
बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले आफू १० वर्ष मार्शल आर्ट खेल सिकेको खेलकुद परिसरमा कुनै परिवर्तन नदेखेको दुखेसो गरे । नगर, जिल्ला र प्रदेश मिलेर खेलकुद विकासमा जोड दिने उनले बताए । ३२ वर्ष लामो ईतिहास बोकेको बास्केटबललाई विद्यालय, नगर, जिल्ला, प्रदेश, राष्ट्रियस्तरको प्रतियोगिता गर्नतर्फ जोड दिए ।
कार्यक्रममा वडा नं ५ का वडाअध्यक्ष हरि प्रसाद श्रेष्ठले खेल क्षेत्र बुझेको ब्यक्तिबाट संस्थाको जिम्मेवारी पाउन सके खेल क्षेत्रको विकास हुने बताए । चार दशकको अनुभवबाट खेलकुद क्षेत्रको विकासमा भोगेका समस्याबारे प्रकाश पारे ।
कार्यक्रममा बास्केटबल संघ रुपन्देहीका प्राविधिक प्रशिक्षक वसन्त रानाले संस्थागत विकास गर्दै खेल विकासमा लागेको बताए । रुपन्देही जिल्लाबाट धेरै राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सफल भएको भन्दै अझै पनि प्राविधिक पक्षका कमजोर रहेको दुखेसो गरे ।
कार्यक्रममा बुटवल उपमहानगर वडा नं ४ का वडा सदस्य पुनम थापा, महासचिव हिमाल गौचन, बाके जिल्ला बास्केट संघका अध्यक्ष वसन्त गिरी, जनशान्ति विकास समितिका अध्यक्ष माधव कसौधनले खेल मर्म अनुसार अघि बढ्नुपर्ने बताए ।