© २०२३
सल्यान, २९ साउन ।
सल्यानका एक शिक्षकले महिलालाई कुटपिट गरेका छन् । गत शुक्रबार एक महिलाको घरमा पुगेका शिक्षकले ती महिलाको वृद्ध सासु आमा र जेठानी दिदीलाई कुटपिट गरेको आरोप छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ निवासी इन्द्र बहादुर रेउलेले छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ मा आएर ६५ वर्षीय सासु आमा लक्ष्मी राना र आफुलाई कुटपिट गरेको शारदा–१२ निवासी लिला रानाले जानकारी दिइन् । आफुहरु शारदा १२ मा र देउरानी छत्रेश्वरी ६ मा बस्ने गरेको उनको भनाई छ । रेउले सिद्ध कुमाख ४ स्थित आधारभूत विद्यालय चाँदेका शिक्षक हुन् । तर शिक्षकले भने आफुलाई चार पाँच जनाले लाठीले आक्रमण गरेपछि प्रतिकार गर्दा सामान्य चोट लागेको हुन सक्ने बताएका छन् ।
शिक्षक पुगेको घरकी महिलाको श्रीमान वैदेशिक रोजगारीमा छन् । कसैले आफ्नो घरमा श्रीमतीसंग कुनै पुरुष बसिरहेको भन्ने जानकारी गराएपछि उनले आफ्नो आमा र भाउजुलाई जाँचका लागि पठाएका थिए । ती महिलाकी जेठानी दिदी भन्छिन्, ‘देवर बाबुले जानकारी गराएपछि हामी गयौँ । उनीहरुले हामीलाई देखेपछि बाहिर निस्किए । हामी बाटोमै हिंड्दै गर्दा ती शिक्षक र देउरानीले लाठीले हिर्काएर कुटपिट गरेका हुन् ।’ शिक्षक रेउले घरमाथि मोटरसाईकल राखेर महिलाको घरमा पुगेका थिए । महिलाको एक छोरा र एक छोरी छन् । आमा घरबाट हिडेपछि उनीहरु बाजे बज्यैसंग बसिरहेका छन् ।
‘देवरले आमालाई फोन गरेर मेरो घरमा जानुस्, त्यो मान्छे पटक पटक मेरो घरमा किन आउँछ, मलाई समेत धम्काउँछ भन्नुभयो । त्यसपछि मात्रै हामी गएका हौँ’, लिलाले भनिन्, ‘उनीहरुले कुटपिट गर्छन् भन्ने थाहा भएको भए त अरु मान्छे लिएर जानेथियौँ ।’ घटना पश्चात शुक्रबार राति नै शिक्षक रेउलेले ती महिलालाई मोटरसाईकलमा लगेर श्रीनगर गएका थिए । प्रहरी श्रोतका अनुसार ती शिक्षक र महिलालाई शुक्रबार राति करिव १ बजेतीर श्रीनगरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
शिक्षकलाई बोलाएर छलफल गर्दा उल्टै उनले आफुमाथि अभद्र व्यवहार गरेको शारदा नगरपालिका १२ का वडा अध्यक्ष सुरेन्द्र बुढाले जानकारी दिए । छलफलमा सहमति हुन नसकेपछि लिलाका सासु बुहारीले प्रहरीमा जाहेरी दिन पुगेका थिए । तर जिल्ला प्रहरी कार्यालयले आइतबार व्यहोरा नपुगेको भनेर जाहेरी बुझ्न नमानेपछि सोमबार फेरि अर्काे जाहेरी लगेर दर्ता गरिएको उनले जानकारी दिइन् ।
यता शिक्षकले भने आफु फुपु साइनो पर्ने ती महिलाको घरमा पुगेको र फर्कदा चार पाँच जनाले आफुलाई आक्रमण गरेको आरोप लगाएका छन् । उनीहरुले त्यहाँ अप्रिय घटना गराउन सक्ने भएकाले आफुले फुपु नाता पर्ने ती महिलालाई श्रीनगर सुरक्षित ठाउँमा ल्याएको उनको भनाई छ ।
रेउले भन्छन्, ‘फुपुको घरमा पुगेपछि म एक आधा घण्टा जति बसेँ होला । च्याउ पाक्दै थियो । मैले एक गिलास रक्सी खाएँ । बाईक घरमाथि राखेको थिएँ । फर्कदाखेरि बाईक भएको ठाउँमा जम्मा भएका उनीहरुले मलाई लाठी लगाए । लाठी छल्न खोज्दा ती महिलाहरुलाई चोट लागे होला ।’ इष्टमित्रको साईनोले ती महिलालाई फुपु भने पनि फुपाजुलाई भने शिक्षकले चिन्दैनन् । आक्रमणबाट घाइते भई आफुले श्रीनगरमा उपचार गराएको उनको भनाई छ । ‘फुपाजुसंग चिनजान छैन’, उनले भने, ‘विदेश गएको सात वर्ष भइसक्यो । फुपु पनि आफ्नै फुपु होइन । उहाँको चरित्र पनि के हो थाहा भएन ।’ ती महिलाले अंशवण्डाको कुरा उठाएकाले पनि वुहारीलाई गलत सावित गर्न आफुसंग जोडेर कमजोर बनाउन खोजिएको हुन सक्ने उनको भनाई छ ।
शिक्षक रेउलेले आफुलाई आक्रमण गर्दा प्रतिकारको क्रममा दुई महिलालाई चोट लागेको भए उपचार खर्च दिन्छु भन्दा पनि ८÷१० लाख माग भएकाले सहमति हुन नसकेको र आफ्नो कुनै गल्ती नभएको भन्दै दोषी भए कारवाही भोग्न तयार रहेको बताए ।