© २०२३
लुम्बिनी, २८ साउन । यशोधरा गाउँपालिका सिंहोखारका ४३ वर्षे शम्सुद्दीन मुसलमान पिसाबको संक्रमण युटिआई समस्याले थलिएर अस्पताल भर्ना भए । चिकित्सकले उनलाई एन्टिबोयोटिक औषधी चलाए, ५ दिनसम्म सेवन गर्दापनि बिसको उन्नाईस भएन् । पिसाबको कल्चर गर्दा एन्टिबोयोटिक औषधीले कामै गरेको पाईएन् । हिस्ट्री लिँदा उनले गाउँघरमै विभिन्न थरिका एन्टिबोयोटिक औषधी सेवन गरेर आएका थिए । रोग बल्झिएर सामान्य एन्टिबोयोटिकले काम गरेन् । त्यसपछि उनलाई उच्चस्तरको एन्टिबोयोटिक सूईका माध्यमबाट लगाएपछि केही विसेक हुन थाल्यो । एक डोजको झण्डै ४ हजार पर्ने उक्त सूई दिनको दुई वटा ४ दिनसम्म लगाएपछि उनी निको भएर डिस्चार्ज भए । अहिले प्रतिजैबिक औषधि (एन्टिमाईक्रोबियल) जथाभावी प्रयोग हँदा शरिरमा रहेका सूक्ष्मजीवहरूले आफ्नो स्वरूप परिबर्तन गरेर बलियो बनेर रोग निवारण गर्न समस्या आईरहेको छ । गाउँ–घर, सहरबजारमा प्रतिजैविक औषधी (एन्टिमाईक्रोबियल औषधी) अत्यधिक, अनावश्यक र अनुपयुक्त ढंगले प्रयोग भईरहेकाले संक्रमण निको हुनुको साटो बल्झिदै गएको छ ।
मानव शरीर, पशुपंक्षी र वातावरणमा लाखौं स–साना जीवित सूक्ष्मजीवहरू हुन्छन् । उपकरणको सहायता विना देख्न नसकिने यस्ता साना जीवहरूलाई सुक्ष्मजीव भनिन्छ । भाईरस, ब्याक्टेरिया, परजीवी र ढुसी सुक्ष्मजीव कतिपय अपरिहार्य हुन्छन भने केहीले हानी गर्छन । यस्ता सुक्ष्मजीवले मानिस वा पशुपंक्षीलाई संक्रमित बनाएमा सुक्ष्मजीव बिरुद्ध एन्टिमाईक्रोबियल औषधीले उपचार गर्नुपर्छ । जस्तै निमोनिया र पिसाबको संक्रमण युटिआई गराउने ब्याक्टेरिया विरुद्ध एन्टिबायोटिक, एचआईभी भाईरस विरुद्ध एन्टिभाईरल, मलेरिया परजीवी विरुद्ध एन्टिपारासाईटिक र दादकालागि ढुसी बिरुद्ध एन्टिफंगल औषधी प्रयोग गर्ने गरिन्छ । प्रतिजैबिक औषधि अन्तर्गत पर्ने एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिपारासाइटिक र एन्टिफंगल उचित ढंगले प्रयोग नहुँदा शरिरमा भएका सुक्ष्मजीवहरूले प्रतिरोध गरेर औषधी प्रभावहिन बनाईरहेका छन् । यस्ता समस्या विरुद्ध समयमै सचेतना अपनाउन सकिएन भने अवस्था गम्भीर हुदै जाने विज्ञले औल्याएका छन् । एन्टिमाईक्रोबियल औषधी सामान्य अवस्थामा प्रयोग गर्ने र जथाभावी उपयोग गर्दा यो समस्या देखिन थालेको हो । गाउघरमा खुलेका अनाधिकृत औषधी पसल र झोले डाक्टरले यस्ता औषधी जथाभावी रूपमा दिने गरेका छन् साथै दर्ता नभएका चिकित्सक, चिकित्सा बिज्ञान नपढेकाले पनि गाउघरमा औषधी पसल संचालन गरि विरामी जाच्ने गरेका कारण पनि यस्तो समस्या विकराल बन्दै गएको चिकित्सकहरू बताउछन् ।
मौषमी भाईरल र सिजनल फूलुमा ज्वरो आउदैमा एन्टिबायोटिक औषधी चलाउनै पर्छ भन्ने हुदैन् भनेर कपिलवस्तु अस्पतालमा कार्यरत ईन्टरनल मेडिसिन कन्सल्टेन्ट फिजीसियन डा. जावेद खाँ ले बताए । उनले १०२ देखि १०३ डिग्रि ज्वरो आएपनि सामान्य सिटामोलले निको हुन्छ तर, यहा हाईडोज एन्टिवायोटिक चलाईन्छ । कतिपय अवस्थामा नर्मल एन्टिबायोटिकले नै ठिक हुन्छ तर, सिटामोलले ठिक हुने विमारमा हाईडोज एन्टिवायोटिक चलायौं भने विरामीको शरिरले फेरी त्यही हाईडोजकै एन्टिवायोटिक खोज्छ र सामान्यले काम गर्दैन् भनेर भने ।
यसले खर्च बढाईरहेको छ साथै रोग निको हुन समय लागि रहेको छ जसले गर्दा सामाजिक पारिवारिक तनाब र समस्या थपिदै जादा उपचार पनि प्रभावित हुँदै गएको उनले बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरका सबै औषधिमध्ये आधाभन्दा बढी अनुपयुक्त ढंगले सिफारिस र बिक्री बितरण भईरहेको जनाएको छ । प्रतिजैविक औषधीको अनुपयुक्त प्रयोगले गर्दा सूक्ष्मजीव बलियो भई औषधीले काम नगर्दा एकपछि अर्को कडा खालको औषधि सेवन गर्नु परिरहेको छ । प्रतिरोधी सूक्ष्मजीवले गर्दा हुने संक्रमणलाई अहिले भएका प्रति–जैबिक औषधिहरूले काम नगर्न सक्छन् र रोग लामो समयसम्म बल्झिरहने प्रतिजैविक प्रतिरोधमा काम गर्दै आएका हर्ड ईनटरनेशनलका अनुसन्धानकर्ता डा. सुशिलचन्द्र बरालले बताए । यसले उपचार खर्च बढ्छ अन्ततः मृत्यु समेत हुन सक्छ भनेर उनले भने ।
प्रतिजैविक प्रतिरोधले उपचारको प्रभावकारीता कम गर्ने हुँदा विरामीमा लामो समयसम्म संक्रमण रहन्छ र यसले उक्त संक्रमण गर्ने प्रतिरोधी सुक्ष्मजीव अरूमा फैलाउने जोखिम पनि हुन्छ । प्रतिजैविक प्रतिरोधले स्वास्थ्य क्षेत्रका उपलब्धीलाई पनि जोखिममा पारिरहेको छ । संक्रमण रोकथाम र उपचारका लागि प्रभावकारी एन्टिमाईक्रोबियलको अभावमा अंग प्रत्यारोपण, क्यान्सर, केमोथेरापी र गम्भीर खालका शल्यक्रिया चुनौतीहरू थपेको छ । रोगको निदाननै नगरि औषधी दिने बढदो प्रचलनले समस्या थपिदो छ, छिटो निको हुने नाउमा जथाभावी औषधी दिदा तत्कालै ठिक भएपनि पछि रोग बल्झिने डा. पूर्ण घर्तिमगरले बताए ।
प्रतिजैविक प्रतिरोध एक जनस्वास्थ्य समस्याका रूपमा देखा पर्न थालिसकेकाले समयमै नीति र योजना बनाउन लाग्ने कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदीप पौडेलले बताए । प्रतिजैविक औषधिको अनुपयुक्त बिक्रिवितरण र प्रयोग रोक्न प्रभावकारी संयन्त्र बनाउनु अब ढिलो गर्न नहुने उनले बताए । प्रतिजैविक प्रतिरोध अहिले विश्वव्यापी चुनौतीका रूपमा देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिब डा. विकास देवकोटाले भने यसले मानव स्वास्थ्यलाई मात्र नभएर खाद्य सुरक्षा र आर्थिक समाजिक विकासमा समेत नकारात्मक प्रभाव पारिरहेको बताए । यस तर्फ समयमै सचेत भएर प्रभावकारी नीतिनियमको आवश्यकता भईसकेको उनले बताए ।
जनरल मेडिकल जर्नल ल्यानसेटमा प्रकाशित एक अनुसन्धानमा प्रतिजैविक प्रतिरोधका कारण सन् २०१९ मा विश्वभर १२ लाख मानिसको मृत्युभएको हुन सक्ने अनुमान गरिएको उल्लेख गरेको छ । यसलाई नियन्त्रण गर्न ठोस कदम चालिएन् भने सन् २०५० सम्ममा प्रतिजैविक प्रतिरोधकाकारण वार्षिक रूपमा एक करोड मानिसको मृत्यु हुन सक्ने प्रक्षेपण समेत गरिएको छ । प्रतिजैविक औषधीको अनपयुक्त प्रयोगले गर्दा सुक्ष्म जीव बलियो भई औषधीले काम गर्न छाडेर समस्याहरू निम्ति रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्यायले बताए । यस तर्फ स्थानीय सरकारले प्रदेश र संघीय मन्त्रालयसंग समन्वय गरेर नियमनकारी नीति बनाएर कार्यान्वयन गर्नु पर्ने बताए । सन् १९८७ पछि नयाँ र प्रभावकारी एन्टिबायोटिक औषधी आविष्कार भएको छैन् र नया प्रतिजैविक औषधी आविष्कार हुन समय लाग्छ । प्रतिजैविक प्रतिरोध बढ्नु तर, नया औषधी आविष्कार नहुनुले विश्वव्यापीरूपमा जनस्वास्थ्यमा गम्भीर चुनौती सृजना भएको चिकित्सकहरू बताउछन् । एन्टिमाईक्रोबियल औषधीको अत्यधिक प्रयोग, दुरूपयोग र बिक्री वितरण ब्यवस्थित बनाउन ढिलो गर्न नहुने लुम्बिनी प्रदेश स्वास्थ्य सचिब डा. बिनोद गिरीले बताए । यस्मा मन्त्रालय सहयोग गर्न तयार छ र नीति, नियम र कानून बनाउन लाग्नुपर्ने उनको भनाई छ ।
प्रतिजैविक औषधी मानिसमा मात्र नभई पशुपंक्षी तथा बालीनालीमा पनि अनुचित रूपमा प्रयोग भइरहेको अवस्था छ । यसरी प्रतिजैविक औषधीकोअनुचित प्रयोग हुँदा, सूक्ष्मजीवहरू प्रतिरोधि हुन सक्छन् । हावा, पानी जस्ता वातावरमा रहेका अन्य वस्तुहरूको माध्यमबाट प्रतिरोधी सूक्ष्मजीवहरू एक ठाउँबाट अर्को ठाउँमा फैलन सक्छ । आहिले आधिकारिक स्वास्थ्यकर्मीको प्रिप्केप्सनबिना प्रतिजैविक औषधिको वितरण र सेवन भएको र खुला रूपमा प्रतिजैविक औषधि प्रयोग भैराखेको छ । त्यसैले बेलैमा प्रतिजैबिक प्रतिरोधबाट बच्न सचेतता पूर्वक नीति नियम र योजना बनाउनु आवश्यक भईसकेको डा. बरालले बताए ।