© २०२३
बुटवल, १२ साउन ।
मणिमकुन्द सेन उद्यान संरक्षण समितिको नवनिर्वाचित पदाधिकारीहरु शपथ तथा पदस्थापन गरिएको छ । १५ औ साधारण सभा तथा ५ औ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ र पदस्थापन गरिएको हो । नवनिर्वाचित अध्यक्ष माधव नेपालले मणिमुकुन्द सेन उद्यानको वृहत्तर हित र विकासका लागि सरोकारवाला संस्थाहरुहरुसंग सहकार्य गर्ने प्रतिवद्घता जनाए । ‘उद्यानको संरक्षक बुटवल उपमहानगरपालिकासहित सबै राजनीतिक दलको सहकार्य गर्ने छु’— उनले भने । हुलाक टिकटमा उद्यानको पहिचान गराउने पहिलो कामलाई अगाडि बढाउने उनले बताए ।
यसैगरी फुलबारी, जितगढी र नुवाकोटको महत्वलाई जोडेर विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियानमा लाग्ने समेत उनले बताए । १२ वर्षभन्दा बढी समय उद्यानमा योगदान दिएर नेतृत्वमा आएको दाबी गर्दै उनले ईतिहासले स्मरण गर्न सक्ने काम गर्ने ईच्छा रहेको बताए । भौतिक संरचनाका धेरै निर्माण काम भएको भन्दै अब यसलाई नाम अनुसार नै आकर्षक सजावटमा जोड दिने उनले बताए ।
हरियाली वर्षका रुपमा चलाउन आवश्यक पहल गरिने उनले बताए । शुक्रबार एक समारोहका बीच निर्वाचन समितिका संयोजक यमलाल खनालले नवनिर्वाचित अध्यक्ष माधव प्रसाद नेपाल र अध्यक्ष माधव प्रसाद नेपालले उपाध्यक्ष रमेश प्रसाद नेपाल, माधव प्रसाद श्रेष्ठ, महासचिव युवराज घिमिरे, सचिव ज्ञानप्रसाद अर्याल, कोषाध्यक्ष मिलेन्द्र श्रेष्ठ, महिला सदस्य भगवती बश्याल घिमिरे, विमला श्रेष्ठ, राजु प्रसाद लिगल, बुद्घि राज थापा, त्रिबिक्रम राज बश्याल, प्रकाश बहादुर कुमाल, सन्तोष श्रेष्ठ तथा लेखा समिति संयोजक भोज बहादुर बुढाथोकी, सदस्य माधव श्रेष्ठ, राजेन्द्रराज अमात्यलाई पद तथा गोपनियताको शपथग्रहण गराए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले ईतिहासलाई दस्ताबेजका रुपमा तयार गर्न सुझाव दिए । विभिन्न कालखण्डको इतिहासलाई दस्ताबेज गर्न जरुरी रहेको उनले बताए । नगरपालिकाबाट लगानी भएर सर्वदलीय बैठकको निर्णयबाट उद्यान समितिलाई हस्तान्तरण गरिएको उनले स्मरण गराए । सौन्दर्यात्मकलाई जोड दिएर जितगढी किल्लासंग पर्यटक भित्र्याउने गरी लाग्नुपर्ने उनले बताए ।
नेपाल–अंग्रेज युद्धमा जित हासिल गरेको स्थलको ऐतिहासिक, सामरिक महत्व बोकेको क्षेत्रको प्रचारप्रसारमा जोड दिनुपर्ने उनले बताए । नगरपालिकाको सम्पत्तिको आंशिक अंश भएको दाबी गर्दै निरन्तर सहकार्य र समन्वय रहने उनले प्रतिवद्घता जनाए ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्याल, सामुदायिक उपभोक्ता वन समूह बुटवल (१–२) का अध्यक्ष बाबुराम पौडेल, वडा नं. १ का वडाअध्यक्ष नरेन्द्र बस्नेत, वडा नं. २ का वडाअध्यक्ष सुनिल शाक्य, उद्यानका उपाध्यक्ष बाबुराम पोखरेलले बुटवलको सामरिक र ऐतिहासिक महत्व जोडिएको मणिमुकुन्द सेन उद्यानको विकासमा सबै एकजुट भएर जानुपर्ने सुझाव दिए ।